काठमाडौं । जापानको निसिनस्थित कोरोगी एथलेटिक पार्कमा सम्पन्न एसियन गेम्स २०२६ अन्तर्गत पुरुष टी-२० क्रिकेटको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतले श्रीलङ्कालाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै स्वर्ण पदक भिडन्तमा स्थान बनाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २५ रनमै २ विकेट गुमाएको नाजुक अवस्थामा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीको ३८ रन र इशान किशनको ४६ बलमा ५ चौका र ५ छक्कासहित अविजित ८० रनको उत्कृष्ट इनिङ्सका मद्दतले ७ विकेट गुमाउँदै १६९ रनको बलियो योगफल खडा गरेको थियो। १७० रनको लक्ष्य पछ्याएको श्रीलङ्काको ब्याटिङ सुरुदेखि नै धराशायी बन्यो । जसप्रित बुमराहको सुरुवाती झट्काका साथै अक्षर पटेल र अभिषेक शर्माले समान २-२ विकेट लिएपछि श्रीलङ्का ९.५ ओभरमै मात्र ४५ रनमा समेटियो। यो फराकिलो जितसँगै भारतले स्वर्ण पदकका लागि चीरप्रतिद्वन्द्वी पाकिस्तानसँगको ऐतिहासिक भिडन्त पक्का गरेको छ भने श्रीलङ्काले कांस्य पदकका लागि बङ्गलादेशको सामना गर्नेछ।



