काठमाडौं । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित तीन महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदनमा प्रस्तुत गरेका ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
सभामुखले उक्त प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दा संसद्मा उपस्थित सांसदहरूबाट कुनै विरोध नआएपछि ती प्रस्तावहरू सर्वसम्मतिले पारित भएका हुन्। यी विधेयकहरू विषयगत समितिमा पठाइएसँगै अब तिनका प्रत्येक दफामाथि सांसदहरूबिच विस्तृत अध्ययन, छलफल र संशोधन प्रक्रिया अगाडि बढ्नेछ।



