RE
Global College

एक हजारभन्दा बढीको सहभागितामा सम्पन्न भयो ‘पिंकवाक २०२६’

काठमाडौं ।  स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘पिंकवाक २०२६’ एक हजारभन्दा बढीको सहभागितामा सम्पन्न भएको छ ।

शनिबार बिहान काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भएको पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको हो । सहभागीहरूले स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक प्लेकार्ड बोकेर धिमेबाजासहित पदयात्रा गरेका थिए ।

कार्यक्रममा अनुराधा कोइराला, डा.ओजश्वी शेरचन, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री सुमना श्रेष्ठ, संगीतकर्मी कालीप्रसाद बास्कोटा तथा मिस नेपाल दिपमाला दाहाललगायत सहभागी भएका थिए ।

कार्यक्रमका क्रममा क्यान्सर केयरका डा.मदन पिया, डा.सन्ध्या र डा.रश्मीले क्यान्सरको प्रारम्भिक पहिचान, शरीरमा देखिने परिवर्तन तथा उपचारका विषयमा जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सुगारिका केसीले गरेकी थिइन् ।

पाटन दरबार क्षेत्रमा भएको समापन समारोहमा क्यान्सर जितेका व्यक्तिहरूले आफ्नो अनुभव सुनाउँदै क्यान्सर जटिल रोग भए पनि समयमै पहिचान र उपचार गर्न सके निको भएर सामान्य जीवनयापन गर्न सकिने सन्देश दिएका थिए ।

स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, समयमै उपचार तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको पदयात्रामा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता थियो ।

कार्यक्रममा संकलित रकम क्यान्सरपीडितको सहयोगका लागि क्यान्सर केयर नेपाललाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।पिंकवाक २०२६ इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गरेको हो । कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत संस्थाको सहयोग रहेको थियो ।

कार्यक्रममा नेशनल क्यान्सर अस्पताल, म्याक्स फाउन्डेसन, नोभाला बायोटेक, क्याम्स, ले मोनाल, स्नो ड्रप्स एच₂ओ, नेट टिभी, उनो, ह्याप्पी माइन्डस्, वाउ–वल्र्ड अफ वुमेन, जीभी, बस्र्ट निम्बू फिज्ज, हिमालयन जाभा, स्मृतिपत्र, झिगु नेवा: बाजं खल:, पठाओ, क्यूएफएक्स, इसेवा, बज्र नास: खल:, ताल नृत्य भूमि, आईएसएस, वानपसल, क्रेयन्स् कोर्प तथा काठमाडौँ पोस्टलगायत विभिन्न संस्था तथा व्यवसायले साझेदारी गरेका थिए । स्तन क्यान्सरविरुद्धको सचेतना अभियानमा सहभागिता र ऐक्यबद्धता जनाउने सबैलाई आयोजक समितिले धन्यवाद व्यक्त गरेको छ ।

Leave Your Comment

Related News