RE
Global College

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा बढुवा गरेको हो ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आवद्ध छन् । उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्ष समेत छन् ।

रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन् ।

आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै, यस बैंक विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने मुलुककै प्रमुख वित्तीय संस्थाका रुपमा स्थापित छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण ९रेमिट्यान्स० भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

Leave Your Comment

Related News