काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २२ गते बिहीबार एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा सम्पन्न साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले बैंकको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसाको ६.५२६३ प्रतिशत अर्थात् २४ करोड ३६ लाख ९ हजार १ सय २ रुपैयाँ ४७ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
त्यस्तै, हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् १४ करोड ९३ लाख ६२ हजार ७ सय ४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। उक्त लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।
साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ। संस्थापक सेयरधनीको तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण सेयरधनीको तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा चयन भएका छन्।
नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्तावसमेत स्वीकृत गरेको छ।
आम नागरिकको विश्वास र भरोसाका साथ बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीका उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा सेवा विस्तारलाई थप प्रभावकारी बनाउने बैंकले प्रतिबद्धता जनाएको छ।




