काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर विमल घर्ती मगरले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो फुटबल यात्रालाई टुङ्गाएको घोषणा गरेका हुन्। `मेरो फुटबल यात्रा बुटवलबाट सुरु भएको थियो। बुटवल हुँदै काठमाडौं र त्यसपछि राष्ट्रिय टोलीसम्मको यात्रा निकै लामो र कठिन रह्यो। मैले देशका लागि जति पनि खेलेँ, मनैदेखि खेलेँ। आफ्नो सबै कुरा फुटबललाई नै दिएँ´उनले लेखेका छन्।
उनले आफू र फुटबललाई माया गर्ने तथा हरेक परिस्थितिमा साथ र समर्थन दिने सबैप्रति आभार व्यक्त गर्दै फुटबलकै कारण आफूले समर्थक, शुभचिन्तक र प्रशंसकबाट धेरै माया पाएको उनको भनाइ छ।
`आज यो निर्णय लिँदा म निकै भावुक भएको छु। मलाई माया गर्ने, विश्वास गर्ने र साथ दिने सबैप्रति एकमुष्ट धन्यवाद व्यक्त गर्न चाहन्छु,´ उनले लेखेका छन्।
एन्फा एकेडेमीका उत्कृष्ट उत्पादन विमलले सन् २०१२ मा १४ वर्षको उमेरमा बङ्गलादेश विरूद्धको मैत्रिपूर्ण खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए। उनले राष्ट्रिय टिमबाट कुल ९ गोल गरेका छन्। पछिल्लो केहि वर्ष देखि उनी फुटबलबाट टाढा रहेका थिए।




