काठमाडौं । आगामी बिहीबारदेखि आइतबारसम्म नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेकाले मौसमविद्ले किसानलाई धान काट्ने काममा सावधानी अपनाउन सुझाव दिएका छन्। बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुनुका साथै केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना छ। त्यसैले धान पाकिसकेको अवस्थामा काट्ने, सुकाउने र सुरक्षित रूपमा भित्र्याउने काम स्थानीय मौसमको अवस्था हेरेर समयमै सक्न उनले सुझाव दिएका छन्।
‘धान पाकिसकेको छ र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्छ भने स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउनुहोला,’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
सम्भावित वर्षाका कारण काटिसकेको धान भिज्ने र बाली भित्र्याउन कठिनाइ हुन सक्ने भएकाले किसानले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्यको योजना बनाउनुपर्ने उनको भनाइ छ।
हिमाली क्षेत्रमा हिमपात र चिसो बढ्ने सम्भावना
मौसमविद् पोखरेलले उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुनुका साथै चिसो बढ्न सक्ने सम्भावना पनि औँल्याएका छन्। त्यसैले हिमाली क्षेत्रमा यात्रा तथा ट्रेकिङमा जाने पर्यटकलाई मौसमको नियमित जानकारी लिएर मात्रै यात्रा योजना बनाउन उनले सुझाव दिएका छन्।
उनका अनुसार बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने सम्भावना छ। उक्त प्रणालीको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसपटक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको प्रभावसमेत देखिएको पोखरेलले बताएका छन्। यी प्रणालीको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रियालाई बलियो बनाउँदा नेपालमा भारी वर्षाको सम्भावना बढ्न सक्ने उनको विश्लेषण छ।
पूर्वानुमानभन्दा फरक समयमा वर्षा हुन सक्ने
पोखरेलका अनुसार करिब एक महिनाअघि पनि यस्तै मौसमी प्रणालीका कारण नेपालमा भारी वर्षा भएको थियो। त्यतिबेला पूर्वानुमान गरिएको समयभन्दा एक दिनअघि नै वर्षा सुरु भएको उनले स्मरण गराएका छन्।
यसपटक पनि वर्षा सुरु हुने समय, प्रभावित क्षेत्र र वर्षाको मात्रा पूर्वानुमानभन्दा फरक हुन सक्ने भएकाले सतर्क रहन उनले आग्रह गरेका छन्।
सम्भावित वर्षालाई ध्यानमा राख्दै किसानले बाली सुरक्षित रूपमा भित्र्याउने व्यवस्था मिलाउनुपर्ने तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक र सर्वसाधारणले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा अवलोकन गर्नुपर्ने देखिन्छ।




