काठमाडौं । सारथी इक्विटी फण्ड लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको दोस्रो वार्षिक साधारण सभाले आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्दै उक्त लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
काठमाडौंको गौशालास्थित होटल बद्रीनाथमा सम्पन्न सभाले स्वतन्त्र सञ्चालकमा भवानी घिमिरे ९थापा० को नियुक्तिलाई अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
कम्पनीका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको वित्तीय अवस्था, लगानी व्यवस्थापन तथा आगामी व्यावसायिक रणनीतिबारे छलफल भएको थियो। शेयरधनीहरूले राखेका जिज्ञासाको जवाफ कम्पनीका प्रबन्ध सञ्चालक कोषराज सुवेदीले दिएका थिए। सभाको सञ्चालन कम्पनी सचिव अस्मिता गौतमले गरेकी थिइन्।
लगानी विविधीकरण र प्रतिफल अभिवृद्धिमा जोड
सारथी इक्विटी फण्डले आगामी दिनमा लगानीका नयाँ अवसर पहिचान गरी सम्भावनायुक्त परियोजनामा पुँजी परिचालन गर्ने लक्ष्य लिएको जनाएको छ। प्रभावकारी जोखिम व्यवस्थापन, लगानी पोर्टफोलियोको विविधीकरण र दीर्घकालीन मूल्य अभिवृद्धिलाई प्राथमिकता दिँदै शेयरधनीलाई प्रतिफल प्रदान गर्ने रणनीति कम्पनीले अघि सारेको छ।
यसैगरी, कम्पनीले नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलसम्बन्धी इजाजतपत्र प्राप्त गरी लगानीको दायरा विस्तार गर्ने योजना बनाएको छ। नवीन प्रविधिमा आधारित व्यवसाय, नवप्रवर्तनशील उद्यम तथा दिगो विकासको सम्भावना भएका क्षेत्रमा लगानी विस्तार गरी नेपालको लगानी बजारमा नयाँ अवसर सिर्जना गर्ने कम्पनीको लक्ष्य रहेको छ। इन्जिनियर राजीव पौडेल र डा। हिमाल भट्टराईसमेत सञ्चालक समितिमा रहेको कम्पनीले सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गर्दै दीर्घकालीन प्रतिफल सुनिश्चित गर्नुलाई आफ्नो प्रमुख कार्यदिशा बनाएको जनाएको छ।



