काठमाडौं । शुक्रबार नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४८ वटा कम्पनीको २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम ३२ करोड रुपैयाँले बढेको छ। विहीबार कारोबार रकम ८ अर्ब ५७ करोड रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ। यस दिन १३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
बेनी हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य ७ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन लुम्बिनी विकास बैंक पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ४८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ भने घलेम्दी हाइड्रोको करिब २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।



