काठमाडौं । बागमती प्रदेश सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति लिलाम बिक्रीको म्याद १५ दिन थपेको छ।
ललितपुरको पुल्चोकमा रहेको यस सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि बचतकर्ताको रकम फिर्ता गर्न समितिले सुमेरु अस्पताल र शंखरापुर कलेजसहितका सम्पत्ति लिलाम गर्न लागेको हो।
यसअघि असोज १७ गते समितिले ३५ दिने लिलाम बिक्रीको सूचना निकालेको थियो। तर प्राविधिक कारणले सम्पत्ति तथा सर्तमा केही संशोधन गर्नुपर्ने भएको छ।
‘प्राविधिक कारण सम्पत्ति तथा सर्तमा केही संशोधन गर्नुपर्ने समितिको निर्णय भएको छ,’ सूचनामा भनिएको छ, ‘प्रथम पटक प्रकाशित सूचनाको ३५औँ दिनमा १५ दिन समय थप गरिएको छ।’ यससँगै अब इच्छुक खरिदकर्ताले पहिलो सूचना प्रकाशित भएको मितिले ५० दिनभित्र सिलबन्दी बोलपत्र दर्ता गर्न सक्नेछन्। समितिले सम्बन्धित कम्पनीका नाममा रहेका बैंक ऋण भुक्तानी गर्न र बचतकर्ताको बचत फिर्ता गर्न सम्पत्ति लिलाम गर्न लागेको स्पष्ट पारेको छ।
लिलामीमा राखिएको सम्पत्तिमा सुमेरु सिटी अस्पताल प्रालिको नाममा ललितपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको ९ वटा कित्ताका जग्गाहरु रहेका छन्। ती जग्गामा निर्माण भएका भवन तथा अन्य संरचना पनि लिलाम हुनेछन्। यसका साथै बायो मेडिकल इन्जिनियरबाट मूल्याङ्कन भएका अस्पतालका पुँजीगत सामाग्री र उपकरणहरु पनि बिक्रीमा राखिएको छ।
सुमेरु अस्पताल सञ्चालन अनुमतिपत्र र शंखरापुर कलेजको सञ्चालन अनुमतिपत्र पनि लिलाम हुने सूचीमा छन्। कलेजद्वारा सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रम र कक्षा सञ्चालनमा प्रयोग भइआएका चल सम्पत्तिसमेत लिलाम गरिने समितिले जनाएको छ।



