Global College

राष्ट्रिय वाणिज्य बैंकको नाफा करिब तीन गुणाले बढ्यो, पुग्यो १ अर्ब ६४ करोड

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।जुन गत आवको सोही अवधिको तुलनामा १७६ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ९ लाखले बढी हो ।  बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै बैंकको नाफा गत वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ।

बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४ अर्ब १ करोड ४६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, बैंकको सञ्चालन मुनाफा २ अर्ब ३५ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ८५ करोड २४ लाख रुपैयाँ रहेको थियो।

बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ७५ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ रहेको थियो। त्यस्तै, बैंकको खुद ब्याज, शुल्क तथा कमिसन आम्दानी ४ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

बैंकको निक्षेप र कर्जा

समीक्षा अवधिसम्म बैंकले ७ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, बैंकले ३ खर्ब ४० अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी ३ खर्ब ३२ अर्ब ८ करोड रुपैयाँ रहेको थियो।

बैंकको कुल सम्पत्ति ८ खर्ब ७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको कुल सम्पत्ति ७ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।

प्रतिसेयर आम्दानी ४२ रुपैयाँ २० पैसा

बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) ३.८९ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ३.८३ प्रतिशत थियो। त्यस्तै, बैंकको इक्विटीमा प्रतिफल (आरओई) ११. ५९ प्रतिशत र सम्पत्तिमा प्रतिफल (आरओए) ०.८३ प्रतिशत रहेको छ।

बैंकको आधार दर ३.९० प्रतिशत, कोषको लागत २.८१ प्रतिशत र ब्याजदर अन्तर ३.३५ प्रतिशत कायम भएको छ।

बैंकको चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४२ रुपैयाँ २० पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ। साथै, वितरणयोग्य मुनाफा प्रतिसेयर ३५ रुपैयाँ ११ पैसा रहेको छ।

NECO

Leave Your Comment

Related News