Global College

टेक्सासमा रिपब्लिकन बर्चस्वको अन्त्य गर्दै अमेरिकी सिनेट चुनावमा जेम्स टालारिको विजयी

काठमाडौं ।  अमेरिकी राज्य टेक्सासको सिनेट चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स टालारिको विजयी भएका छन्। सन् १९९४ पछि टेक्सासमा कुनै डेमोक्रेटिक उम्मेदवारले राज्यस्तरीय चुनाव जितेको यो पहिलो पटक हो।

लामो समयदेखि रिपब्लिकन पार्टीको बलियो पकड र कठोर रुढीवादी नीतिको केन्द्र मानिँदै आएको टेक्सासमा टालारिकोको यो जितलाई ठूलो राजनीतिक हेरफेरका रूपमा हेरिएको छ।

यस चुनावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन सिनेट उम्मेदवार जोन कर्निनलाई पन्छाउँदै विवादित महान्यायाधिवक्ता (अटोर्नी जनरल) केन प्याक्सटनलाई समर्थन गरेका थिए। तर, आधा अर्ब डलरभन्दा बढी खर्च गर्दा पनि प्याक्सटनले आफ्नै पार्टीका मतदाताहरूलाई आकर्षित गर्न सकेनन्।

प्याक्सटनको समर्थनमा खर्बपति उद्योगी इलोन मस्कले मात्रै कम्तीमा २१ करोड १२ लाख (२१२ मिलियन) डलर खर्च गरेका थिए। मस्कको ‘स्पेसएक्स’ (SpaceX) कम्पनी टेक्सासमै आधारित छ। अमेरिकी संसद् (कंग्रेस) मा डेमोक्र्याटहरूले बहुमत हासिल गरेपछि सरकारी खर्च कटौतीसम्बन्धी आयोगको प्रमुखका रूपमा मस्कले खेलेको भूमिकाबारे छानबिन गर्ने तयारी गरेका छन्।

ह्युस्टनमा आयोजित चुनावी कार्यक्रममा सहभागी २७ वर्षीया कानुनकी विद्यार्थी टेलर बेलले यस जितलाई “ऐतिहासिक” भन्दै अब राज्यको स्रोतसाधन आम जनताको हितमा प्रयोग हुने आशा व्यक्त गरिन्।

त्यसैगरी ह्युस्टनका संसद् सदस्य (काउन्सिलम्यान) क्रिस्चियन मेनेफीले सम्बोधन गर्दै टेक्सासले आज देशमा पुनः आशाको किरण जगाएको बताए। उनले भने, “यदि हामी एकजुट भएर घृणा र कट्टरताका विरुद्ध लड्यौँ भने यो देशमा जुनसुकै लक्ष्य हासिल गर्न सकिन्छ भन्ने पुष्टि भएको छ।”

आईटी क्षेत्रमा कार्यरत २९ वर्षीया इभोन नुङ्गाले युवा पुस्ता र सुनौलो भविष्य चाहने आम जनताले आफ्नो मताधिकार प्रयोग गरेको प्रतिक्रिया दिइन्। उनले यो लडाइँ बायाँ वा दायाँ पक्षको नभई पहुँचवाला र आम नागरिक (शीर्ष र तल्लो तह) बीचको भएको र आफ्ना उम्मेदवारले यसलाई मुख्य मुद्दा बनाएकोमा खुसी व्यक्त गरिन्।

एजेन्सी

NECO

Leave Your Comment

Related News