Global College

जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार ३३.६७ प्रतिशतले वृद्धि, सर्वाधिक व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स नेपाल

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्म १२ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको नयाँ व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म १२ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीहरुले ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार ३३.६७ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिसम्म सर्वाधिक नयाँ व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले ३ अर्ब १५ करोड १२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफले २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ नयाँ व्यापार गरेको छ। त्यस्तै, सूर्यज्योति लाइफले ८८ करोड ८८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ८१ करोड ३९ लाख रुपैयाँ र सिटिजन लाइफले ७७ करोड २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

नयाँ व्यापारको वृद्धिदरका आधारमा भने आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४.१० प्रतिशतले व्यापार वृद्धि गरेको छ। त्यस्तै, प्रभु महालक्ष्मी लाइफको व्यापार ७२.०२ प्रतिशत, सन नेपाल लाइफको ६८.२१ प्रतिशत र नेशनल लाइफको ६०.४६ प्रतिशतले बढेको छ।

त्यसैगरी, रिलायबल नेपाल लाइफको नयाँ व्यापार ४९.२२ प्रतिशत, एसियन लाइफको ४७.०५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४७.०३ प्रतिशत, सूर्यज्योति लाइफको ४४.९३ प्रतिशत र सिटिजन लाइफको २९.११ प्रतिशतले वृद्धि भएको छ। हिमालयन लाइफको व्यापार २६.५४ प्रतिशत, मेट लाइफको २४.४३ प्रतिशत र एलआईसी नेपालको १९.७९ प्रतिशतले बढेको छ।

तर, राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यापार भने घटेको छ। कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म ३० करोड ३६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४५ करोड ४६ लाख रुपैयाँ संकलन गरेको कम्पनीको व्यापार ३३.२२ प्रतिशतले घटेको हो।

 

NECO

Leave Your Comment

Related News