Global College

काठमान्डुको धारिलो बलिङसामु विराटनगर ८३ रनमा अलआउट

काठमाडौं । काठमान्डु गोर्खाजका बलरहरूले सानदार बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि निरन्तर विकेट गुमाउँदा कम स्कोरमा समेटिएको हो ।

विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ रगेका रुपेश सिंहले २७ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा सर्वाधिक २६ रन बनाए । रुपेशसँगै एन्जेलो म्याथ्युज र बसिर अहमदले मात्र विराटनगरका लागि दोहोरो अंकमा रन बनाउन सके । म्याथ्युजले ३१ बल खेलेर २२ रन जोड्दा बसिर अहमदले १० रन बनाए ।

शेहान जायसूर्या ५, लोकेश बम ६, आन्द्रे रसेल ३ र अपराजित पौडेल २ रनमा आउट भए भने इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खातासमेत खोल्न सकेनन् । कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे । निकै संघर्ष गरेको विराटनगरले ३५ रनमै ७ विकेट गुमाएको थियो । एन्जेलो र रुपेशले आठौं विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका हुन् ।

काठमान्डुका लागि युवा बलर सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सहान अराचिगेले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र देव शाहले १-१ विकेट लिए ।

एनपीएलमा विराटनगरको यो दोस्रो कम स्कोर हो । यसअघि सन् २०२५ मा भएको एनपीएलको दोस्रो संस्करणको क्वालिफायर वानमा विराटनगर सुदूरपश्चिम रोएल्ससँग ७८ रनमा अलआउट भएको थियो।

NECO

Leave Your Comment

Related News