Global College

चिनियाँ विद्युतीय यात्रुवाहक विमान ‘सीई-२५ए’ को पहिलो मानवसहितको उडान सफल

काठमाडौं । चीनको एक विद्युतीय यात्रुवाहक विमानले शनिबार पहिलो पटक मानवसहितको उडान सफलतापूर्वक सम्पन्न गरेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चीनको उड्डयन उद्योग र सरकारी स्वामित्वको विमान निर्माता कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) का लागि यो एक ऐतिहासिक उपलब्धि हो।

चिनियाँ सरकारी प्रसारक सीसीटीभी न्युज र समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार पूर्वी चीनको सान्दोङ प्रान्तस्थित बिन्झाउबाट उडेको उक्त विमानमा दुई जना पाइलट र एक जना इन्जिनियर सवार थिए। विमान १६ मिनेट ३८ सेकेन्डसम्म आकाशमा रहेर करिब ६० किलोमिटर दूरी तय गरी पुनः बिन्झाउमै अवतरण गरेको थियो। कोम्याकले उक्त उडान “सामान्य रूपमा सञ्चालन भएको” जनाएको छ।

सहरहरूबिचको छोटो दूरीको व्यावसायिक उडानका लागि डिजाइन गरिएको ‘सीई-२५ए’ विमानमा विद्युतीय प्रणाली (electric propulsion system) जडान गरिएको छ। १९ यात्रु बोक्न सक्ने क्षमता भएको यस विमानको अधिकतम उडान तौल १० टन रहेको छ। यसको अधिकतम उडान गति प्रतिघण्टा ३०० किलोमिटर छ भने यो २ हजार ४०० मिटरको उचाइसम्म उड्न सक्छ।

यो विमान चीनमै कोम्याक, ब्याट्री निर्माता कम्पनी कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी को. लिमिटेड (CATL), सांघाई जियाओ तोङ विश्वविद्यालय लगायतको सहकार्यमा निर्माण गरिएको हो।

मानवसहितको यो उडान विमानको विकास क्रमको पछिल्लो महत्वपूर्ण चरण हो। यस विमानले यसै वर्षको फेब्रुअरीमा स्वचालित (मानवरहित) उडान गरिसकेको थियो र त्यसयता १९ वटा मानवरहित परीक्षण उडानहरू पूरा गरिसकेको छ। निर्माता कम्पनीले व्यावसायिक उडानका लागि चीनको नागरिक उड्डयन प्रशासन (CAAC) समक्ष ‘टाइप सर्टिफिकेसन’ का लागि आवेदन दिइसकेको भए पनि व्यावसायिक सेवा सुरु गर्न अन्तिम अनुमति भने पाउन बाँकी छ।

(एजेन्सी)

NECO

Leave Your Comment

Related News