Global College

नेशनल इन्स्योरेन्सको नाफा ९८ प्रतिशतले घट्यो, पहिलो त्रैमासमा ७ लाख १ हजार मात्रै खुद नाफा

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा भारी गिरावट आएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ७ लाख १ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसरी समीक्षा अवधिमा कम्पनीको नाफा करिब ९८.१६ प्रतिशतले घटेको हो।

कम्पनीको बीमाशुल्क आम्दानी भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ६२ लाख ९५ हजार रुपैयाँ रहेको कुल आर्जित बीमाशुल्क चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २२ करोड ११ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, खुद आर्जित बीमाशुल्क ९ करोड १४ लाख ६ हजार रुपैयाँबाट बढेर १२ करोड ९५ लाख ९३ हजार रुपैयाँ पुगेको छ। कम्पनीको कुल आम्दानी पनि गत वर्षको ११ करोड ९७ लाख ५३ हजार रुपैयाँबाट बढेर १९ करोड ९६ लाख ९५ हजार रुपैयाँ पुगेको छ।

तर, कम्पनीको खर्च उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५१ लाख रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १९ करोड ८६ लाख ९३ हजार रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी तथा दाबी खर्चसमेत बढेको छ। गत वर्ष २ करोड ९२ लाख ४३ हजार रुपैयाँ रहेको खुद दाबी खर्च बढेर ११ करोड ७६ लाख २९ हजार रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

कम्पनीको कुल सम्पत्ति ५६८ करोड ९७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा कम्पनीको कुल सम्पत्ति ५३८ करोड ९४ लाख रुपैयाँ रहेको थियो।

वित्तीय विवरणअनुसार कम्पनीको रिटेन्ड अर्निङ १२९ करोड ५९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ४ गुणा कायम रहेको छ।

त्यस्तै, कम्पनीको चुक्ता पुँजी १७१ करोड ६८ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल इक्विटी २५० करोड ६७ लाख रुपैयाँ पुगेको छ।

यसरी बीमाशुल्क आम्दानी र कुल आम्दानी बढे पनि दाबी खर्च तथा अन्य सञ्चालन खर्चमा भएको वृद्धिका कारण इन्स्योरेन्सको खुद नाफा उल्लेख्य रूपमा घटेको देखिन्छ।

 

NECO

Leave Your Comment

Related News