Global College

सर्वोत्तम पेन्ट्सको नाफा ५० प्रतिशतभन्दा बढीले वृद्धि, कच्चा पदार्थको मूल्यवृद्धि र प्रतिस्पर्धा प्रमुख चुनौती

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४  को पहिलो त्रैमास (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार  पहिलो त्रैमासमा  १ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ७८ लाख २० हजार रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ५०.८३ प्रतिशतले बढेको छ।

 चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ११ करोड ६४ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा ७ करोड ४६ लाख रुपैयाँ रहेको बिक्री आम्दानी यस वर्ष ५५.७५ प्रतिशतले वृद्धि भएको हो।

बिक्री आम्दानीमा भएको वृद्धिको प्रभाव कम्पनीको कुल मुनाफामा पनि देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १४ लाख रुपैयाँ कुल मुनाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ४ करोड ५२ लाख रुपैयाँ पुर्‍याएको छ।

त्यस्तै, कम्पनीको सञ्चालन क्षमतामा समेत सुधार आएको वित्तीय विवरणले देखाएको छ। गत वर्षको पहिलो त्रैमासमा ९२ लाख ३९ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आर्थिक वर्षमा बढेर १ करोड ६७ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसअनुसार सञ्चालन मुनाफामा ८१.६८ प्रतिशतको वृद्धि भएको छ।

यसैबीच, कम्पनीको चुक्ता पूँजी पनि बढ्यको छ। अघिल्लो आर्थिक वर्षमा २५ करोड ५० लाख रुपैयाँ रहेको चुक्ता पूँजी बढेर हाल ३७ करोड ४० लाख रुपैयाँ पुगेको छ। कम्पनीको जगेडा तथा कोषमा १ करोड ६३ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।

पूँजी वृद्धिका बाबजुद कम्पनीले प्रतिशेयर आम्दानी सकारात्मक राख्न सफल भएको छ। समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा रहेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ३७ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १४७ रुपैयाँ २४ पैसा कायम भएको छ।

डेकोरेटिभ पेन्ट्स उद्योगमा कच्चा पदार्थको मूल्य र आपूर्तिमा हुने उतारचढावसँगै बजार प्रतिस्पर्धा बढ्दै जाँदा उद्योग सञ्चालन थप चुनौतीपूर्ण बन्दै गएको छ। विनिमय दरमा हुने परिवर्तनले उत्पादन लागतमा दबाब सिर्जना गरेको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डसँगको तीव्र प्रतिस्पर्धाका कारण बजार हिस्सा र नाफा जोगाउन कठिनाइ भइरहेको छ।

यद्यपि ,  निर्माण तथा घरजग्गा क्षेत्रको गतिविधि, उपभोक्ताको क्रयशक्ति र समग्र आर्थिक अवस्थाले पेन्ट्सको बिक्री तथा आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। निर्माण क्षेत्रमा हुने मन्दी वा उपभोक्ताको खर्च गर्ने क्षमतामा आउने कमीले कम्पनीहरूको व्यावसायिक गतिविधि प्रभावित हुन सक्ने देखिन्छ।

त्यस्तै, श्रम, ढुवानी तथा अन्य सञ्चालन खर्चमा भइरहेको वृद्धिले उत्पादन लागत थप बढाएको छ। बढ्दो लागतलाई नियन्त्रण गर्दै नाफाको स्तर कायम राख्नु उद्योगका लागि अर्को चुनौती बनेको छ।

बजारमा ग्राहकको रुचि र गुणस्तरसम्बन्धी अपेक्षा पनि निरन्तर परिवर्तन भइरहेका छन्। यस्तो अवस्थामा उपभोक्ताको आवश्यकता पूरा गर्न उत्पादनको गुणस्तर, बजार रणनीति तथा व्यावसायिक योजनामा निरन्तर सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।

उद्योगले यी चुनौतीको सामना गर्न लागत नियन्त्रण, प्रभावकारी आपूर्ति व्यवस्थापन, गुणस्तर सुधार तथा बजार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। बदलिँदो बजार परिस्थितिअनुसार व्यावसायिक रणनीतिमा सुधार गर्दै प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउने प्रयास भइरहेको छ।

NECO

Leave Your Comment

Related News