Global College

शेख हसिनाको फिर्तीअघि बंगलादेशमा हिंसा चर्कियो

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना आगामी महिना देश फर्किने चर्चा चलिरहेका बेला बंगलादेशका विभिन्न भागमा हिंसात्मक घटना फैलिएका छन्, जसमा अवामी लिगका नेता–कार्यकर्ता तथा सार्वजनिक संरचनाहरूलाई निशाना बनाइएको छ। राजनीतिक तनाव चर्कँदै जाँदा प्रहरी चौकी, सवारीसाधन तथा आवासीय संरचनाहरूमाथि आक्रमणका घटना भएका छन्। हसिनाका समर्थकहरू संलग्न अशान्तिका बीच उनको गृहजिल्ला गोपालगञ्जमा एउटा प्रहरी चौकी र कैयौँ सवारीसाधनमा आगजनी गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भारतबाट हसिना फर्किने अड्कलबाजी तीव्र भइरहेका बेला यी घटनाहरू बाहिर आएका हुन्।

अर्को घटनामा पूर्वअन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसको चटगाउँस्थित पाँचलाइस क्षेत्रमा रहेको पुर्ख्यौली घरमा बुधबार राति आगजनी गरिएको एजेन्सी ले जनाएको छ।

पछिल्ला दिनहरूमा बंगलादेशमा कच्चा बम विस्फोट, सवारीसाधनमा आगजनी, सार्वजनिक संरचनामाथि आक्रमण र प्रदर्शनसहितका शृङ्खलाबद्ध हिंसात्मक गतिविधि देखिएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो १० दिनमा कम्तीमा २८ जिल्लामा बम विस्फोट तथा आगजनीका घटना भएका छन्, जसका कारण सर्वसाधारणको मृत्यु र घाइते हुनुका साथै भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ।

ढाकामा नोभेम्बर १६ मा हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुईवटा कच्चा बम विस्फोट हुँदा तीन जना पैदलयात्री घाइते भएका थिए। त्यसैगरी नोभेम्बर १७ मा संस्कृति मामिलामन्त्री निताई रोय चौधरीको निवासबाहिर अर्को विस्फोटको घटना भएको थियो।

गोपालगञ्जमा पनि आगजनीका विभिन्न घटना भएका छन्। आक्रमणकारीहरूले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का एक सांसदको घरमा आगो लगाएका छन् भने तुंगीपारा प्रहरी चौकीलाई समेत निशाना बनाइएको छ, जसमा केही प्रहरी घाइते भएका छन्। फरिदपुर र पिरोजपुरमा भएका छुट्टाछुट्टै घटनामा सवारीसाधनमा आगजनी गरिँदा यातायात मजदुरहरूको ज्यान गएको छ। स्थानीय विवरणअनुसार नोभेम्बर १० यता कम्तीमा ३७ वटा ग्रामीण बैंकका कार्यालयमा आगजनी वा आगजनीको प्रयास भएको छ भने देशका विभिन्न स्थानमा धेरै बसहरूमाथि आगो लगाइएको छ।

एजेन्सी

NECO

Leave Your Comment

Related News