काठमाडौं । । दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन्। औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भएका थिए। सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएका हुन्।
बुधबार प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन्।
तियोगिताअन्तर्गत आज विभिन्न खेल विधाका प्रतिस्पर्धाहरू हुँदैछन्। पुरुष फुटबलतर्फ बिहान ९ बजे नेपाल आर्मी र लुम्बिनी प्रदेश तथा दिउँसो २:३० बजे कोशी र बागमती प्रदेशबीच खेल हुनेछ। महिला क्रिकेटतर्फ बिहान ९:३० बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन् भने दिउँसो १:१५ बजे कोशी प्रदेश र कर्णाली प्रदेश आमनेसामने हुनेछन्। त्यसैगरी, महिला बास्केटबलको फुल कोर्टतर्फ बिहान ९ बजे नेपाल पुलिस र कर्णाली तथा १० बजे मधेश प्रदेश र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ भने थ्रि बाई थ्रि तर्फ दिउँसो १२:१० बजे नेपाल आर्मी र एपीएफ तथा १२:३० बजे मधेश प्रदेश र बागमती प्रदेशबीच खेल तय भएको छ।
पौडीतर्फ आज विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ, जसमा महिला ८०० मिटर फ्रिस्टाइल, पुरुष ४०० मिटर इन्डिभिजुअल मेड्ले, महिला तथा पुरुष ५० मिटर बटरफ्लाई, २०० मिटर फ्रिस्टाइल र १०० मिटर ब्याकस्ट्रोक समावेश छन्। साथै, पौडीकै रिले स्पर्धाअन्तर्गत महिला ४×१०० मिटर मेड्ले रिले, पुरुष ४×२०० मिटर फ्रिस्टाइल रिले र मिक्स्ड ४×५० मिटर मेड्ले रिलेका खेलहरू पनि सञ्चालन हुनेछन्।
टेनिसतर्फ एकल, युगल र मिश्रित युगलका गरी कुल १५ खेलहरू तय भएका छन्। महिला एकलतर्फ समृद्धि महर्जन र शाल्वी शेरचन, शिवाली गुरुङ र भगवती बी.के., आरुषी तुलाचन र प्रज्ञा मानन्धर तथा अश्मी धामी र स्वस्तिका बिष्टबीच प्रतिस्पर्धा हुनेछ। युगलतर्फ सन्तोष खत्री र सक्षम बी. शाहको जोडीले शाश्वत बज्राचार्य र अनिल साईको सामना गर्नेछ भने माधव सिंह बिष्ट र रमेश सिंह डागाले बिष्णु चापागाईं र सुमन थारुसँग, गगन महर्जन र निश्चल कायस्थले निहाल जे. थापा र दर्शिल श्रेष्ठसँग तथा प्रदीप खड्का र करण बी. थापाले कुमार तामाङ र नकुल थापासँग खेल्नेछन्।
त्यस्तै, हिमाल शाह र मेघेन्द्र पी. गिरीको जोडीले आसाव एस. हाडा र दावा एस. शेर्पासँग, देवाशिष रेउले र सुमन लामाले अन्जन लामा र रेन्जेन लामासँग तथा दिलीप गुप्ता र अशोक थापाले निशान श्रेष्ठ र प्रितम परियारसँग प्रतिस्पर्धा गर्नेछन्। मिश्रित युगलतर्फ शिवाली गुरुङ र राज वीर प्रधानले शाश्वत बज्राचार्य र शाल्वी शेरचनसँग, सन्तोष भण्डारी र भगवती बी.के.ले प्रकृति श्रेष्ठ र निशान श्रेष्ठसँग, महेन्द्र बहादुर साउद र अश्मी धामीले शक्ति शर्मा र आहना शेरचनसँग तथा स्वस्तिका बिष्ट र प्रणव खनालले प्रज्ञा मानन्धर र प्रितम परियारसँग खेल्ने तालिका रहेको छ।



