काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमकहरुको बीमालेखा जारी सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । बीमा कारोबारको दैनिक कारोबार बन्द गर्ने प्राधिकरणको निर्देशन लागु गर्न कठिनाई भएको भन्दै प्राधिकरणले नयाँ व्यवस्था जारी गरेको बताएको छ । नयाँ व्यवस्था अनुरुप अबदेखि प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकृत गरिने छैन, भने तर, उक्त दिनको अघिल्लो दिनसम्म स्वीकृत भएका प्रस्तावहरुको लागि बीमालेखा जारी गर्न सकिनेछ ।
त्यस्तै जीवन बीमा अभिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गते भित्र पुरा गरिसक्नु पर्ने गरी तोक्ने र २८ गते पश्चायत गरिने बीमालई सोहि महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य , इन्सेन्टिभ वा स्किममा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
जीवन बीमा व्यवसाय गर्ने बीमकले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लगायतका सुविधको ‘कट अफ डेट’ आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुनाले सो समयमै वित्तीय विवरण तयार गर्न र बीमा कारोबारको दैनिक कारोबार बन्द गर्ने प्राधिकरणको निर्देशन लागु गर्न समेत कठिनाई उत्पन्न भएको भन्दै जीवन बीमकहरुको बीमालेखा जारी सम्बन्धमा नयाँ व्यवस्था गरिएको प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले जानकारी दिए ।


