काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताएका छन् ।सोमबार मर्चवार क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री लम्सालले सडक विस्तार, ग्रामीण सडक निर्माण, अस्पताल स्थापना तथा स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा दुई खण्डमा चार लेन सडक विस्तारको योजना अघि बढाइएको छ । पहिलो खण्डको पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको छ । उक्त खण्डको निर्माणका लागि तत्काल बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइने उनले बताए ।
पहिलो खण्डकै थप १५ किलोमिटर सडकको डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको मन्त्री लम्सालले जानकारी दिए । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्ने योजना रहेको उनको भनाइ छ ।
सडक विस्तारले स्थानीयको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र समग्र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मर्चवारको धार्मिक तथा पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने मन्त्री लम्सालले बताए । मन्दिरसम्म पुग्ने बाटो र त्यसलाई मुख्य सडकसँग जोड्ने सडक चालु आर्थिक वर्षभित्र निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । मुख्य तथा ग्रामीण सडक निर्माण र स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गरिने उनले बताए ।
अनुगमनका क्रममा स्थानीयले सर्पदंश उपचार सेवासहितको अस्पताल स्थापना गर्न माग गरेपछि मन्त्री लम्सालले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाए । स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न स्थानीयस्तरमै अस्पताल स्थापना आवश्यक रहेको उल्लेख गर्दै उनले स्वास्थ्य चौकीको स्तरोन्नतिलाई समेत प्राथमिकता दिइने बताए ।
त्यसैगरी, क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा आवश्यक योजनाको डीपीआर तयार गर्ने र आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी कार्यान्वयनमा लैजाने तयारी रहेको उनले जानकारी दिए ।
मर्चवार क्षेत्रका विकासका आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना अघि बढाउन स्थलगत अनुगमन गरिएको सांसद कन्हैया बनियाले बताए । अनुगमनका क्रममा स्थानीयले उठाएका माग र समस्याको अध्ययन गरी सडक, स्वास्थ्य तथा शिक्षासम्बन्धी योजना कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ ।




