राष्ट्र बैंकद्धारा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी छुट्टै नीतिगत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी छुट्टै नीतिगत व्यवस्था गरेको छ । बैंक खाता रोक्का र फुकुवा प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नियमावली २०८१ जारी भएको हो ।

यो विनियमावली मंगलबार देखि (असोज १गते ) लागू हुनेछ । यसअघि पनि बैंक खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था भए पनि छुट्टै विनियमावली जारी भएको थिएन । आइतबार सूचना जारी गर्दै राष्ट्र बैंकले नियमावली कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

बैंक खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी राष्ट्र बैंकसमक्ष लिखितरूपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिनेभएको छ । प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीनपुस्ते विवरण उल्लेख गर्नुपर्नेछ ।

कानुनी व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने छ । कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण उल्लेख गर्नुपर्नेछ भने आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अङ्कमा(  र खाता रहेको बैंकको विवरण उल्लेख गर्नुपर्नेछ । तर, प्रचलित कानुनमा खाता रोक्का गर्नेसम्बन्धी स्पष्ट व्यवस्था नभएको अवस्थामा वा अधिकारप्राप्त अधिकारीबाहेकका अन्य व्यक्तिबाट आएका पत्रका आधारमा खाता रोक्कासम्बन्धी प्रक्रिया अघि बढाउन राष्ट्र बैंक बाध्य नहुने नियमावलीमा उल्लेख छ ।

नियमावलीअनुसार प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्नेछ । बैंक खाता रोक्का वा फुकुवाको लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकमा पत्र पठाउँदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनुपर्नेछ भने यस्तो पत्र इमेलमार्फत समेत पठाउन सकिनेछ । बैंक खाता फुकुवा गरिने व्यवस्था खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीले आंशिक रोक्का रहेको खाता फुकुवा, निश्चित रोक्का रहेको खाता फुकुवा वा सम्पूर्ण रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरेबमोजिम रोक्का रहेका खाता फुकुवा गर्न राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई निर्देशन दिनेछ । तर, रोक्का रहेको खाता अदालतको आदेशबमोजिम फुकुवा गर्न इजाजतपत्रप्राप्त संस्थालाई राष्ट्र बैंकको निर्देशन अनिवार्य नहुने नियमावलीमा उल्लेख छ ।

विनियमावलीबमोजिम राष्ट्र बैंकले दिएको निर्देशन अविलम्ब पालना गर्नु एवं विनियमावली कार्यान्वयनको लागि इजाजतपत्रप्राप्त संस्थाले सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का, आंशिक खाता रोक्का एवं खाता फुकुवा गर्न राष्ट्र बैंकले दिएको निर्देशनबमोजिम अविलम्ब खाता रोक्का वा फुकुवा गरी खाता रोक्का वा फुकुवा भएको जानकारी तत्काल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीलाई गराउनुपर्नेछ । राष्ट्र बैंकको निर्देशनबमोजिम आंशिक खाता रोक्का गर्नुपर्ने अवस्थामा इजाजतपत्रप्राप्त संस्थाले रोक्का गर्नुपर्ने खातामा तोकिएबमोजिमको रोक्का गर्नुपर्ने रकम नरहेको अवस्थामा खातामा उपलब्ध रकम रोक्का राखी पर्याप्त रकम नरहेको जानकारी राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीलाई गराउनुपर्ने बिनियमालीमा उल्लेख छ ।

अदालतको आदेश भएकोमा वा सम्बन्धित निकायको अनुरोधबमोजिम राष्ट्र बैंकको निर्देशन भएकोमा बाहेक इजाजतपत्रप्राप्त संस्थाले रोक्का रहेको खाताबाट कुनै किसिमले रकम भुक्तानी, हस्तान्तरण, कट्टी एवं रकमान्तर गर्न पाउने छैन । यसैगरी सम्पूर्ण खाता रोक्का राख्न निर्देशन प्राप्त भएमा इजाजतपत्रप्राप्त संस्थाले सम्बन्धित व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको नयाँ खाता खोल्न पाउने छैन । खाता रोक्कासम्बन्धी जानकारी वा सूचना सो कार्यमा संलग्न कर्मचारी तथा इजाजतपत्रप्राप्त संस्थाको व्यवस्थापकले गोप्य राख्नुपर्ने विनियमावलीमा उल्लेख छ ।

खाता रोक्कासम्बन्धी विशेष व्यवस्थाअन्तर्गत इजाजतपत्रप्राप्त संस्थाहरूको खाता रोक्का हुने छैन । भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का हुनेछैन । तर, अल्पकालीन वा दीर्घकालीनरूपमा संस्था सञ्चालनमा नरही बन्द हुने अवस्था आएमा वा राष्ट्र बैंकले कारबाही गरी खाता रोक्का गर्नुपर्ने अवस्था देखिएमा वा अनुसन्धान गर्ने अधिकारीले कारणसहित राष्ट्र बैंकसमक्ष अनुरोध गरेको अवस्थामा सोको औचित्य विश्लेषण गरी उपविनियम १ र २  मा उल्लिखित उपर्युक्तबमोजिमको संस्थाको खाता रोक्का गर्न भने बाधा पुगेको मानिने छैन, बिनियमावलीमा भनिएको छ । कुनै कर्मचारीसँग सम्बन्धित विषयका कारण सम्बन्धित संस्थाको सम्पूर्ण खाता रोक्का गर्नेगरी अनुरोध गर्नुपर्ने भएमा खाता रोक्का गर्नु अघि निश्चित वा आंशिक खाता रोक्का गर्न मिल्ने वा नमिल्ने यकिन गरी सम्पूर्ण खाता रोक्का गर्दा संस्थाको व्यावसायिक निरन्तरतामा पर्ने प्रभाव, अन्य कर्मचारी तथा सरोकारवालालाई पर्ने प्रभाव र सम्बन्धित संस्थाको उक्त कर्मचारीप्रतिको दायित्व रकमसमेत खुलाई विवरण पेस गर्नुपर्नेछ ।

खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीले आंशिक रोक्का रहेको खाता फुकुवा, निश्चित रोक्का रहेको खाता फुकुवा वा सम्पूर्ण रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरेबमोजिम रोक्का रहेका खाता फुकुवा गर्न राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई निर्देशन दिनेछ । तर, रोक्का रहेको खाता अदालतको आदेशबमोजिम फुकुवा गर्न इजाजतपत्रप्राप्त संस्थालाई राष्ट्र बैंकको निर्देशन अनिवार्य हुनेछैन ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार