काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार स्थगन गरेको छ। समयमा नै वित्तीय निर्णयको जानकारी नदिएको भन्दै नेप्सेले कम्पनीको धितोपत्र कारोबार रोक्का गरेको हो।
कम्पनीको मिति २०८३ असोज २६ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा, बुक क्लोज तथा लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो। तर, सोसम्बन्धी जानकारी अर्को दिन अर्थात् असोज २७ गते बेलुका ५:५९ बजे मात्र नेप्सेमा प्राप्त भएको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) बमोजिम मूल्यमा प्रभाव पार्ने सूचना वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ। उक्त नियमको पालना नभएको भन्दै नेप्सेले विनियमावलीको विनियम १६(१)(ख) अनुसार मिति २०८३ असोज २८ गतेको निर्णयअनुसार कारोबार स्थगन गरेको हो।
साथै, तोकिएको समयमा किन जानकारी गराउन नसकिएको हो भन्ने विषयमा यो पत्र प्राप्त भएको ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न कम्पनीलाई निर्देशन दिइएको छ।





