कैलाली भन्सारबाट नौ महिनामा पाँच अर्ब राजस्व संकलन

अत्तरिया । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु. पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले चालू आव ०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो।

कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु. दुई अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु. दुई अर्ब ३३ करोड एक लाख, अन्तःशुल्कतर्फ रु. १५ करोड ६ लाख र अन्यतर्फ रु. एक अर्ब ६ करोड ५१ लाख राजस्व संकलन गरेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।

कार्यालयले चालू आवका नौ महिनामा रु. आठ अर्ब ५६ करोड ६४ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६६.९४ प्रतिशत मात्रै राजस्व संकलन भएको उनले जानकारी दिए। ‘पुँजीगत खर्च कम छ, विकास निर्माणका काम बढेका छैनन्, जसले गर्दा आयात घटेको छ,’ उनले भने, ‘बढी राजस्व संकलन हुने वस्तुको आयातमा कमी छ, यसले राजस्व संकलन प्रभावित भएको छ।’

उनका अनुसार चालू आवको साउनमा रु. ४६ करोड ८२ लाख, भदौमा रु. ५१ करोड ९३ लाख, असोजमा रु. ६३ करोड १४ लाख, कात्तिकमा रु. ६१ करोड ४६ लाख र मंसिरमा रु. ७३ करोड ३४ लाख राजस्व संकलन भएको छ। त्यस्तै, पुसमा रु. ६८ करोड ९० लाख, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख र चैतमा रु. ७२ करोड १३ लाख राजस्व संकलन भएको उनले जानकारी दिए।

चालू आवमा भन्सार कार्यालयको रु. ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको लक्ष्य छ । चालू आवका नौ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ४९.५१ प्रतिशत रहेको सूचना अधिकारी खड्काले जानकारी दिए।

गत आवमा ०७९/८० मा रु. १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा रु. आठ अर्ब २९ करोड ६३ लाख राजस्व भएको थियो। त्यो लक्ष्यको ६७.४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार