पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं ।  बागमती,आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को पहिलो तीन महिनामा १ अर्ब ८६ करोड ७५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १ अर्ब ५७ करोड ८९ लाख राजस्व सङ्कलन भएको छ ।

यही साउनदेखि असोज महिनासम्मको अवधिमा अन्तःशुल्कतर्फ १ अर्ब ४१ लाख, आयकरतर्फ २० करोड ४४ लाख, मूल्यअभिवृद्धि करतर्फ १८ करोड ८८ लाख, स्वास्थ्य जोखिम करतर्फ र १५ करोड ९९ लाख, ब्याजकरतर्फ १ करोड ८१ लाख र बहालकर तर्फ ३६ लाख राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए ।

यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको हो । अघिल्लो आव २०८०/८१ को पहिलो तीन महिनामा १ अर्ब ८८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड राजस्व सङ्कलन भएको थियो ।

प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ मा ८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३२ हजार ८ सय ९८, मूल्य अभिवृद्धितर्फ ५ हजार ८ सय चार, अन्तःशुल्कतर्फ १ हजार ५ सय ८३, विथहोल्डतर्फ सात सय ५ र व्यक्तिगततर्फका ७९ हजार ४ सय ४४ करदाता रहेका छन् ।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु र नियमित बजार अनुगमन हुनुजस्ता कारणले अघिल्लो वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सुधार आएको प्रमुख सुवेदीको भनाइ छ ।

कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये धेरैजसो करदाताले लामो समयदेखि वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारेर कारबाही अघि बढाएको हो । वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार