कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआईबीको बयान, सहकारी ठगीमा अनुसन्धान हुँदै

काठमाडौं । नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे सोधपुछ गरेको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीले जानकारी दिएको छ ।

‘हामीले उहाँसँग बयान लिएका छौं । उहाँको बयान तथ्य र प्रमाणसँग मिल्छ कि मिल्दै हेरेर थप अनुसन्धान गर्छौं,’ सीआईबीका एक अधिकारीले भने ।

गुरुङसँग अनुसन्धान अधिकृतहरुले बुधवार मध्यान्ह १२ बजेदेखी ५ बजेसम्म सोधपुछ गरेका हुन् । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ ।

ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । तर, धनराजले भने आफूले ज्योतिसँग डिभोर्स गरिसकेकाले पूर्वपत्नीको कारोबार बारे आफूलाई जानकारी ‍नहुने बताउँदै आएका छन् ।

ललितपुर महानगरपालिका महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको तत्कालीन महाप्रबन्धक ज्योती गुरुङ संस्थाबाट १४ करोड ८१ लाख ६३ हजार ४१८ रुपैयाँ ठगेर २०७६ माघदेखि फरार रहेकी छन् ।

सहकारीका अध्यक्ष कुम्मराज गुरुङले संस्थाको महाप्रबन्धक ज्योती गुरुङ २०७६ माघदेखि संस्थाको उक्त रकम ठगेर सम्पर्क बाहिर रहेको बताए ।

२०७० सालमा सहकारीमा लेखा प्रबन्धक हुँदै महाप्रबन्धक बनेकी ज्योतिले २०७६ मा विभिन्न १३८ भन्दा बढी बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेकी हुन् । संस्थाबाट बचतकर्ताको पैसा अपचलन भएपछि समिति नै बनाएर छानबिन गरिएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार