काठमाडौं । काठमाडौको कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माणमा ४९ लाख ६३ हजार रुपैयाँ खर्च भएको छ ।
बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टकको उद्घाटन गरेसँगै सो स्थानबाट यातायात आवागमन भएको छ ।
४.८४ मीटर लम्बाई र १२ मिटर चौडा उक्त कलभर्ट पुन निर्माण गरिएको हो । कलभर्ट भत्किँदा संघीय राजधानी काठमाडौको व्यस्ता कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो । काठमाडौ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो । त्यस लगत्तै मन्त्रालयले प्राविधिकहरु परिचालन गरि विस्तृत अध्ययन गराएको थियो । प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए ।
उक्त कलभर्ट निर्माणका लागि डिजी प्रकाश कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्का लगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो ।
बाढीका कारण काम हुन नसके पछि मंशिर १७ गते सम्पन्न गर्ने गरि कातिक ३ गतेबाट काम शुरु भएको थियो ।
राणकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो । जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रक्रियाले पनि निर्माण कार्यमा केहि ढिलाई भएको थियो ।
निर्माण भए सँगै सडक सुचारु भई सर्वसाधारणलाई सहज भएको सडक विभागका अधिकारीहरुले बताए ।