१० ठूला वाणिज्य बैंकको ऋण परीक्षणका लागि पुन: प्रस्ताव

Garima_Business-Loan3

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणका लागि पुन: प्रस्ताव गरिएको छ । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँगको सम्झौताअनुसार १० ओटा ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षणका लागि राष्ट्र बैंकले पुन: प्रस्ताव आह्वान गरेको हो ।

राष्ट्र बैंकले शुक्रवार सार्वजनिक सूचना जारी गरी अन्तरराष्ट्रिय लेखापरीक्षक कम्पनीबाट प्रस्ताव आह्वान गरेको हो । इच्छुक परामर्शदाता फर्महरूले जनवरी १ अर्थात् पुस २२ गतेसम्म आवेदन दिन पाउने मिति तोकिएको छ । यसअघि राष्ट्र बैंकले गत चैतमा प्रस्ताव आह्वान गरेको थियो, जसमा सबै कम्पनीको प्रस्ताव अस्वीकृत भएपछि राष्ट्र बैंकले पुनस् बोलपत्र खुलाएको हो ।

परामर्श दिने कम्पनीको सेवा, शर्तमा सामान्य परिवर्तन गरी नयाँ बोलपत्र खुला गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि परामर्शदाता योग्य हुनका लागि ७० नम्बर प्राप्त गर्नुपर्ने व्यवस्था रहेकोमा यसलाई घटाएर ६० मा झारिएको छ । छनोटमा परामर्शदाताको योग्यतालाई ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई १० प्रतिशत अंकभार दिइएको छ ।

आईएमएफले विस्तारित कर्जा सुविधा (ईसीएफ) किस्ता दिनुअघि १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षणको शर्त राखेको थियो । नेपालका बैंकहरूको खराब कर्जा न्यून हुनुमा कर्जाको गुणस्तरमा शंका गर्दै आईएमएफले अन्तरराष्ट्रिय परामर्शदाताबाट त्यसको परीक्षण गराउन लागेको हो । आईएमएफसँगको सम्झौताअनुसार २०२४ अप्रिल अन्तिमबाट परीक्षण प्रक्रिया शुरू गरी डिसेम्बरसम्ममा सक्ने र भेटिएका कैफियतका आधारमा २०२५ फेबु्रअरीबाट सुधारको कार्ययोजना सञ्चालन गर्ने उल्लेख छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार