काठमाडौं । जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको जीवन बीमा कम्पनीहरुको तथ्यांकमा व्यवसाय विस्तार भएको देखिएको हो ।
सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो पाँच महिनामा ६५ अर्ब ७४ करोड १८ लाख ४९ हजार रुपैयाँको व्यवसाय गरेका छन् । जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ४२ हजार २४६ बीमा लेख बिक्री गरेर उक्त आम्दानी गरेका हुन् ।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय ६.४६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरुको व्यवसाय ६१ अर्ब ७४ करोड ७१ लाख १३ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा १४ जीवन बीमा कम्पनीमध्येमा १२ ले व्यवसाय बढाएका छन् भने दुईको आम्दानी घटेको छ ।
समीक्षा अवधिमा व्यवसायको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा छ । यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसायमा छलाङ मारेको छ । व्यापार घटाउनेमा हिमालयन लाइफ इन्स्योरेन्स र राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ ।
चालु आवको मंसिरसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ७६ करोड ४८ लाख ३२ हजार रुपैयाँ बराबरको बीमा लेख बिक्री गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको व्यवसाय १६ अर्ब ७६ करोड ८ लाख ४ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको व्यवसाय २ अर्ब ४० लाख २८ हजार रुपैयाँ अर्थात ११.९६ प्रतिशतले बढेको छ ।
चालु आवमा रिलायबल लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसाय २५.४४ प्रतिशतले बढाएको छ । गत आवको मंसिरसम्ममा कम्पनीले १ अर्ब ५३ करोड १९ लाख २ हजार रुपैयाँको बीमा लेख बिक्री गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ९२ करोड १५ लाख ९६ हजार रुपैयाँको व्यापार गरेको छ ।
अधिकांश जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसायमा सुधार गर्दा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसायमा भने संकुचन आएको छ । समीक्षा अवधिमा कम्पनीको व्यवसाय ५० प्रतिशतभन्दा बढीले घटेको छ । गत आवको मंसिरसम्ममा कम्पनीले ४ अर्ब ५२ करोड ५० लाख १९ हजार रुपैयाँको बीमा लेख बिक्रीमा गरेको चालु आवमा उक्त रकम घटेर २ अर्ब २५ करोड ८१ लाख २३ हजार रुपैयाँमा आइपुगेको छ ।