CLI

सिद्धबाबा सुरुङमार्ग छिचोलिन ८ मिटर मात्रै बाँकी, ‘ब्रेक थ्रु’ नजिक

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। हालसम्म १ हजार ८१ मिटर सुरुङ खनिसकिएको छ । जसमा उत्तरतर्फ ४७७ मिटर र दक्षिणतर्फ ६०४ मिटर खनिएको हो। अब ८ मिटर मात्रै खनिसकेपछि सुरुङमार्ग पूर्ण रूपमा ‘ब्रेक थ्रु’ हुनेछ।

आयोजनाका अनुसार, पुस २३ सम्म सुरुङमार्गको दुई वटा बाइपास खण्डमा ‘ब्रेक थ्रु’ भइसकेको छ। कुल १ हजार ८९ मिटर लामो यो सुरुङ नेपालकै प्रमुख पूर्वाधार योजनामध्ये एक हो।

आयोजनाले हालसम्म कुल भौतिक प्रगति ३८.८५ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको जनाएको छ। सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि अझै कंक्रिट लाइनिङ, स्लोप निर्माण, र अन्य संरचनात्मक काम बाँकी छन्।

सिद्धबाबा सुरुङमार्गका योजना प्रमुख कृष्णराज अधिकारीका अनुसार, सुरुङमार्ग छिचोल्न दुई दिन मात्र लाग्ने अवस्था छ। उनले भने, ”हामीले नियमित रूपमा काम गरिरहेका छौं। अब केही दिनभित्रै औपचारिक कार्यक्रम गरी सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नेछौं।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयपछि ‘ब्रेक थ्रु’ औपचारिक रूपमा सम्पन्न गरिने अधिकारीले जानकारी दिए।

सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए पनि गाडी सञ्चालन गर्न भने अझै समय लाग्नेछ। अधिकारीका अनुसार, हाल अस्थायी सपोर्ट दिइएको छ। सुरुङभित्र गाडी गुड्ने सडकको ढलान, विद्युतीकरण, र भेन्टिलेसन प्रणाली जस्ता महत्त्वपूर्ण कार्यहरू बाँकी छन्।

सिद्धबाबा सुरुङमार्गले नेपालका दुई प्रमुख सहर बुटवल र पाल्पा जोड्ने राजमार्गलाई सहज बनाउनेछ। यो मार्ग निर्माण सम्पन्न भएपछि पहिरो जोखिम कम हुने र यातायात समय घट्ने अपेक्षा गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि यसले क्षेत्रीय विकास र आर्थिक वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यो परियोजनाले नेपालको पूर्वाधार क्षेत्रमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News