काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा उत्रिएको आन्दोलनरत पक्ष र सरकारबीच भएको वार्ता कुनै ठोस निष्कर्षबिना टुंगिएको छ।
यसअघि, केबलकारको माथिल्लो स्टेशनमा भइरहेको निर्माण कार्य तत्काल रोक्ने सहमतिसहित माघ २२ गते सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सम्झौता भएको थियो। सो सहमतिपछि पूर्वका विभिन्न जिल्लामा जारी चक्काजाम लगायतका आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएका थिए।
उक्त सहमति अनुसार माघ २७ गते (आज) थप विस्तृत छलफल हुने तय भएको थियो। तर, आन्दोलनरत पक्षले उच्च राजनीतिक नेतृत्वसँग मात्र वार्ता गर्ने अडान लिएपछि वार्ता बिना कुनै निष्कर्ष टुंगिएको हो।
सरकारको तर्फबाट वार्ता टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले गरेका थिए भने आन्दोलनरत पक्षतर्फ प्राज्ञ अम्बर तुम्याहाङ संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो। आन्दोलनरत पक्षले सरकारसँग वार्ताका लागि समिति गठन गरिएकोमा स्वागत गरे पनि, यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै कर्मचारीहरूसँग नभई मन्त्रीस्तरमै छलफल गर्ने माग राखेको छ।
यसअघि भएको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिना शर्त रिहा गर्ने सहमति भएको थियो। तर, सरकारले उनीहरूलाई धरौटीमा मात्र रिहा गरेको भन्दै आन्दोलनरत पक्ष असन्तुष्ट देखिएको छ।
सरकार र आन्दोलनरत पक्षबीच पुनः वार्ता हुने सम्भावना भए पनि, समाधानका लागि राजनीतिक तहबाट हस्तक्षेप आवश्यक पर्ने देखिएको छ।