काठमाडौं । नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) मा नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको हो ।
नेपालले १०० मा जम्मा ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अङ्क ३५ पाएको थियो । अर्थात नेपालको अवस्था गतवर्षभन्दा पनि कमजोर भएको छ ।
सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औं स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल अध्यक्ष मदनकृष्ण शर्माले जानकारी दिए ।
अहिले विश्वव्यापी सूचकाङ्कको औसत अङ्क ४३ हो । त्यसमा पनि ५० अङ्कभन्दा कम ल्याउने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुक मानिन्छ ।
युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देश बनेको छ । ९० अङ्क प्राप्त गरेर डेनमार्क विगत ७ वर्षदेखि एक नम्बर रहँदै आएको छ ।
डेनमार्क विगत ७ वर्षदेखि एक नम्बर रहँदै आएको छ । यस्तै विगत ५ वर्षमा १८० देशमध्ये ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकांकमा उल्लेख्य प्रगति गरेका छन् । ट्रान्सपरेन्सीका अनुसार विश्वका दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन् । जसअनुसार सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष ४३ कायम भएको छ ।
यस्तै साउथ सुडान भने विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ ।