काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुको नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड ८२ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.८५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ३ करोड ७२ लाख नाफा कमाएको थियो ।
गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा सिटिजन्स लाइफ, एशियन लाइफ, रिलायबल लाइफ,मेट लाइफ, आइएमई लाइफ इन्स्योरेनस कम्पनीहरु रहेका छन् । समिक्षा अवधिमा सिटिजन्स लाइफले २३ करोड ९ लाख, एशियन लाइफले २५ करोड ३ लाख, रिलायबल लाइफले ३५ करोड ३ लाख, मेट लाइफले २२ करोड २५ लाख, आइएमई लाइफले २६ करोड ७८ लाख , नेपाल लाइफले ४६ करोड ८१ लाख, नेशनल लाइफले २७ करोड ९१ लाख नाफा कमाएका छन् । साथै सोहि अवधिमा हिमालयन लाइफले ३७ करोड ६२ लाख, सानिमा लाइफले २३ करोड १६ लाख, प्रभू लाइफले १८ करोड २५ लाख, सूर्यज्योति लाइफले १९ करोड ६१ लाख, लाइफ इन्स्योरेन्सले १४ करोड १८ लाख नाफा कमाएको छ ।
समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा र सन नेपाल लाइफको नाफा भने घटेको छ । चालु आवको दोस्रो त्रैमासमा राष्ट्रिय जीवन बीमाले ८० लाख र सनले २८ करोड २२ लाख नाफा कमाउँदा गत आवको सोहि अवधिमा राष्ट्रिय जीवन बीमाको १ करोड ४२ लाख र सनको ३२ करोड ८४ लाख नाफा रहेको थियो । बीमा कम्पनीहरुको आम्दानी बढे सँगै नाफामा वृद्धि भएको विज्ञहरु बताउछन् । पछिल्लो समय बिमतिको संख्या समेत बढ्दा जीवन बीमा कम्पनीहरुको आम्दानी समेत बढेको विज्ञहरु बताउछन् ।