काठमाडौं । नेपाली उपभोक्तामाझ परिचित हुन्डाई क्रेटा अब विद्युतीय भर्सन (ईभी) मा नेपाली बजारमा उपलब्ध हुने भएको छ। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी नेपालमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले फागुनको अन्तिम सातासम्म नेपाली बजारमा क्रेटा ईभी सार्वजनिक गर्ने योजना बनाएको छ।
भारतमा क्रेटा ईभी जनवरी १७ मा सार्वजनिक भएको थियो। भारतमा यो मोडेल दुई ब्याट्री प्याक र ६ भेरियन्टमा उपलब्ध छ। नेपालमा भने कम्पनीले दुवै ब्याट्री प्याकका चार भेरियन्ट उपलब्ध गराउने तयारी गरिरहेको छ। नेपाली बजारमा क्रेटा आईसीई (आन्तरिक दहन इन्जिन) एसयूभी निकै सफल भएको छ, जसले गर्दा क्रेटा ईभीप्रति पनि ग्राहकहरूको उच्च चासो रहने अपेक्षा गरिएको छ।
हुन्डाई मोटर्सको उत्पादन भए पनि नेपाली उपभोक्तामाझ क्रेटा छुट्टै ब्रान्डको रूपमा स्थापित भइसकेको छ। हुन्डाईका महाप्रबन्धक दीपक थपलियाका अनुसार क्रेटा ईभीले पनि क्रेटा आईसीईजस्तै उपभोक्ताको विश्वास जित्नेछ। उनले भने, “गाडीप्रति रुचि राख्ने हरेक व्यक्ति क्रेटा नामसँग परिचित छन्। हुन्डाई ब्रान्डभित्रकै अर्को सशक्त मोडेल क्रेटा हो, जसले आफ्नो विरासत कायम राख्नेछ।”
नेपाली भूगोलका लागि उपयुक्त डिजाइन र बनावटका कारण क्रेटा एसयूभी अत्यन्त लोकप्रिय भएको हो। यो मोडेल सहर तथा अफरोड दुवै वातावरणमा सहज रूपमा चलाउन सकिन्छ। पछिल्लो समय नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दै गए पनि उपभोक्ता अझै पूर्ण रूपमा सन्तुष्ट भएका छैनन्। यस्तै परिप्रेक्ष्यमा हुन्डाई ब्रान्डभित्रको क्रेटा ईभीले उपभोक्तामाझ थप विश्वास जगाउने कम्पनीको विश्वास छ।
थपलियाले भने, “नेपाली बजारमा ईभीका धेरै विकल्प छन्। तर, अन्य ब्रान्डमार्फत अनुभव हासिल गर्नुभन्दा हुन्डाई अपनाउँदा सहज हुन्छ। क्रेटा आफैंमा नेपालमा स्थापित ब्रान्ड हो।” लक्ष्मी इन्टरकन्टिनेन्टलले विगत ६ वर्षदेखि आयोनिक र कोना ईभी बिक्री गर्दै आएको छ। कम्पनीसँग ईभी बिक्री र उपभोक्ताको अपेक्षाबारे राम्रो अनुभव रहेको छ।
ईभी सम्बन्धी पूर्वाधारको चर्चा गर्दा प्रायः चार्जिङ स्टेसन मात्र केन्द्रमा राख्ने गरिन्छ। तर, हुन्डाईका अनुसार चार्जिङ पूर्वाधारको एक मात्र पक्ष हो। ब्याट्रीको आयु, ब्याट्री डिस्पोजल, रिसेल्स भ्यालू, सर्भिस तथा पार्टपुर्जासँग सम्बन्धित विषय पनि अत्यन्त महत्त्वपूर्ण छन्। हुन्डाईले यी पक्षलाई ध्यानमा राखेर उपभोक्ताका समस्या समाधान गर्न विशेष ध्यान दिएको छ।
थपलियाले भने, “हुन्डाईले गाडी मात्र बेच्दैन, उपभोक्ताको सन्तुष्टि पनि सुनिश्चित गर्छ। हामी उपभोक्ताले विद्युतीय गाडी प्रयोग गर्दा कुनै असुविधा भोग्नु नपरोस् भन्ने हेतुले काम गरिरहेका छौं।” कम्पनीका अनुसार ईभी प्रयोगकर्ताले भोग्नुपर्ने विभिन्न समस्यालाई सम्बोधन गर्न लक्षित प्राविधिक जनशक्ति उपलब्ध गराइएको छ।
नेपालमा बिक्री हुने क्रेटा ईभी भारतमा उत्पादन भएको हो। पार्टपुर्जा फेर्नु परे तुलनात्मक रूपमा सहज र सस्तो हुने कम्पनीको दाबी छ। यसले गर्दा ग्राहकलाई लामो समयसम्म उत्कृष्ट सेवा अनुभव गराउने लक्ष्य कम्पनीले लिएको छ।
ब्याट्री र मोटर
हुन्डाई क्रेटा ईभी दुई ब्याट्री प्याक ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर विकल्पमा उपलब्ध छ । ४२ किलोवाट आवरको विकल्पले ३९० किलोमिटर र ५१.४ किलोवाट आवरले ४७३ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । ४२ किलोवाट आवर ब्याट्री प्याकसँग ९९ किलोवाटको मोटर र ५१.४ किलोवाट आवरसँग १२६ किलोवाटको मोटर छ ।
ईभीले ७.९ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्षम छ ।
भेरियन्ट र चार्जिङ
हुन्डाई क्रेटा ईभी भारतीय बजारमा ६ भेरियन्टमा उपलब्ध छ । तर नेपालमा चार भेरियन्टमा आउने बताइएको छ । क्रेटा ईभी ४२ किलोवाट आवर ब्याट्री विकल्पमा चार भेरियन्ट र ५१.४ किलोवाट ब्याट्री विकल्पमा २ भेरियन्टमा उपलब्ध छ । ४२ किलोवाट आवर ब्याट्री तर्फ क्रेटा इलेक्ट्रिक एक्ज्युकेटिभ, क्रेटा इलेक्ट्रिक स्मार्ट, क्रेटा इलेक्ट्रिक स्मार्ट (ओ) र क्रेटा इलेक्ट्रिक प्रिमियममा उपलब्ध छ । ५१.४ किलोवाट ब्याट्री तर्फ क्रेटा इलेक्ट्रिक स्मार्ट (ओ) र क्रेटा इलेक्ट्रिक एक्सिलेन्समा उपलब्ध छ । क्रेटा ईभी डीसी फास्ट चार्जिङको मद्दतबाट ५८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । ११ किलोवाटको वाल एसी चार्जरबाट चार्ज गर्न ४ घण्टा लाग्छ ।
सुरक्षा र फिचर
हुन्डाई क्रेटा ईभीमा ६ वटा एयरब्याग छ । ब्लाइन्ड स्पोट मोनिटरसहितको ३६० क्यामरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम ९टीपीएमएस० क्रेटा ईभीमा छ । गाडीमा क्रुज कन्ट्रोल र लेन किप असिस्टसहितको लेभल २ ड्राइभर असिस्टेन्स सिस्टम रहेको बताइएको छ । गाडीको ह्वीलेबेस २६१० एमएम छ ।
कम्पनीले स्मार्टफोन र स्मार्टवाचमा एक्सेस मिल्ने डिजिटल की फिचर गाडीमा रहेको बताएको छ । ड्राइभिङ सहजताका लागि सिफ्ट बाई वायर सुविधा छ । गाडी भित्र मोबाइल, ल्यापटप चार्ज गर्न मिल्ने तथा बाहिर ठूला घरेलु उपकरण चार्ज गर्न मिल्ने भेहिकल टू लोड ९भी२एल० सुविधा पनि गाडीमा छ । माइहुन्डाई एपबाटै आफू नजिकको चार्जिङ स्टेसन फेला पार्न सकिनेछ । गाडीमा १०।२५ इञ्चको इन्फोटेनमेन्ट स्क्रिन छ ।