प्युठान । जिल्ला कारागार प्युठानमा कैद भुक्तान गरिरहेका एक कैदी मृत फेला परेका छन्। गौमुखी गाउँपालिका–३ निवासी २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो कारागारको बाथरुमभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार दिउँसो करिब २ बजे नुहाउन बाथरुम गएका घर्ती लामो समयसम्म बाहिर ननिस्किएपछि अन्य कैदीबन्दीले ढोका खोलेर हेरेका थिए। त्यसक्रममा उनी कपडा झुण्ड्याउने हुकमा डोरीको पासो लगाएको अवस्थामा फेला परेका थिए।
घटनाको जानकारी पाएपछि कारागार कार्यालयबाट प्रहरी सहायक निरीक्षक सत्रोहन चौधरीको कमान्डमा तीन जनाको टोली खटिएको थियो। प्रहरीले कैदीबन्दीको सहयोगमा घर्तीलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल बिजुवार पुर्याएको थियो। तर, दिउँसो २:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घर्ती हाडनाता करणी मुद्दामा १६ वर्ष कैद सजाय पाएका कैदी हुन्। उनले पाँच वर्ष कैद भुक्तान गरिसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक अधिकारीको कमान्डमा घटनास्थल अनुसन्धान टोली खटिएको छ। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। घटनाको कारण खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




