काठमाडौं । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपैयाँ अपचलन प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले यसबारे जानकारी दिएको हो।
प्रहरी निरीक्षक सागर पौडेलका अनुसार मङ्गलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जना अभियुक्तहरूसँगै अदालतमा उपस्थित गराउने गरी म्याद थप गरिएको छ।
पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको ठूलो मात्रामा रकम अपचलन प्रकरणमा पुनलगायतका व्यक्तिहरू संलग्न रहेको आरोप छ। उनी सहकारीका पूर्वसञ्चालक रहेको बताइएको छ।
सहकारी ऐन, २०७४ अनुसार उनीहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।