एनसेललाई अनुसरण गर्ने निर्णयबाट नेपाल टेलिकम ‘ब्याक’

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम डिजिटल माध्यमबाट ५० रुपैयाँभन्दा कम मूल्यको टपअप नगर्ने निर्णयबाट फिर्ता भएको छ । एक साताअघि लागू गरिएको उक्त नीतिले उपभोक्ताहरूबाट तीव्र विरोध सामना गर्नुपरेपछि टेलिकमले आफ्नो निर्णय पुनरावलोकन गर्दै १० रुपैयाँदेखि नै रिचार्ज सुविधा उपलब्ध गराउने घोषणा गरेको हो।

पुन १० रुपैयाँदेखि टपअप गर्न सकिने सुविधा उपलब्ध भएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बताए । ‘तत्काल ५० रुपैयाँभन्दा कम मूल्यको टपअप नगर्ने व्यवस्था स्थगन गरिएको छ,’ ढकालले भने ।

निजी क्षेत्रको अर्कोे दूरसञ्चार कम्पनी एनसेलले २०८० असोजदेखि नै ४० रुपैयाँभन्दा कम मूल्यको टपअप गर्दै आएको छैन ।

पछिल्लो समय बजारमा नेपाल टेलिकम र एनसेलबीच प्रतिस्पर्धा भन्दा दोस्ती बढेको चर्चा छ । यस विषयमा बिजमाण्डूले समाचार पनि लेखेको छ ।

एनसेलले एक वर्ष अघि लिएको नीति अहिलेनेपाल टेलिकमले अनुसरण गर्न खोजेको देखिन्छ ।

पछिल्लो समय दूरसञ्चार कम्पनीको आम्दानी घट्दो क्रममा छ । टेलिकम कम्पनीहरु आम्दानी बढाउने औजार खोजिरहेका छन् । यस्तोमा सानो भन्दा ठूलो रकम टपअप गर्न ग्राहकलाई बाध्य पारिदैछ ।
एनसेलले टपअप सीमा बढाउँदा ठूलो विरोध सामना गर्नु परेको थिए । निजी कम्पनी भएकाले एनसेललाई त्यो सहुलियत छ । तर नेपाल टेलिकम सरकारी कम्पनी हो । नाफाको नाममा उत्तरदाहित्व बिसर्न छुट छैन ।

विगतमा एनसेल र नेपाल टेलिकमले १० रुपैयाँदेखिको भौतिक रिचार्ज कार्ड पनि बेच्दै आएका थिए । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै अहिले बजारमा ५० रुपैयाँभन्दा कमको रिर्चाज कार्ड उपलब्ध छैन । पछिल्लो समय भौतिक कार्ड मार्फत भन्दा पनि डिजिटल प्रविधिबाट मोबाइल टपअप गर्नेको संख्या बढ्दो छ । साथै यो प्रविधिबाट रिचार्ज गर्नेको पहुँच सामाजिक सञ्जालमा छ । सामाजिक सञ्जालमा विरोधको आवाज सुनिन थाले पछि नेपाल टेलिकम आफ्नो निर्णयबाट फिर्ता भएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार