CLI

गभर्नर अधिकारीले भने ‘घाँटी हेरेर हाड निल्नुपर्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कारोबार गर्दा नियामक निकायबाट अनुमतिप्राप्त संस्थामार्फत मात्र गर्न आग्रह गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘ग्लोबल मनी वीक’ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आर्थिक सुरक्षाका लागि बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए। उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्यान्डेटका अतिरिक्त वित्तीय समावेशितालाई महत्वपूर्ण एजेन्डाका रूपमा लिएको उल्लेख गर्दै सबै नागरिकको बैंक खाता हुनुपर्ने र ती खाता सक्रिय रूपमा सञ्चालनमा आउनुपर्ने धारणा राखे।

उनले वित्तीय ज्ञान प्राप्त गर्दा आम विद्यार्थीको व्यवहारमा समेत सकारात्मक परिवर्तन आउने बताउँदै वित्तीय सचेतनाले जीवनशैलीमै सुधार ल्याउने विश्वास व्यक्त गरे। ‘भोलिका दिनमा व्यक्तिगत रूपमा सुरक्षित बन्न सकिन्छ, स्वच्छ समाज निर्माणमा टेवा पुग्छ,’ उनले भने, ‘यो मात्र होइन, विद्यार्थीहरूले समग्र राष्ट्रलाई पनि स्वच्छ र सुदृढ बनाउन योगदान दिन सक्छन्। त्यसैले विद्यार्थी उमेरमै वित्तीय ज्ञान प्राप्त गर्नु आवश्यक छ।’ यस उद्देश्यले विद्यालयको पाठ्यक्रममा वित्तीय साक्षरता र समावेशिता समावेश गर्न राष्ट्र बैंकले पहल गरिरहेको उनले जानकारी गराए।

त्यस्तै, गभर्नर अधिकारीले वित्तीय अनुशासनको महत्व उल्लेख गर्दै ‘घाँटी हेरेर हाड निल्नुपर्छ’ भन्ने उक्ति उदाहरण दिँदै आम नागरिकले आफ्नो क्षमताअनुसार मात्र खर्च गर्ने बानी बसाल्नुपर्ने सुझाव दिए। वित्तीय साक्षरताको प्रवर्द्धनका लागि नेपाल राष्ट्र बैंकले देशव्यापी जागरण अभियान सञ्चालन गरिरहेको र आगामी दिनमा अझ विस्तार गर्दै लैजाने योजना रहेको पनि उनले स्पष्ट पारे।

Leave Your Comment

Related News