बैंकहरुले सामाजिक उत्तरदायित्वको ६० प्रतिशत रकम खर्च गर्नैपर्ने, दान र पुरस्कारलाई लेखांकन गर्न नमिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको सामाजिक उत्तरदायित्व कोषअन्तर्गतको खर्च बढाउन नयाँ व्यवस्था गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाहरुमा बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१  जारी गर्दै इजाजतपत्रप्राप्त क, ख र ग वर्गका स‌ंस्थालाई प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा थप क्रियाशील हुन आफ्नो हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम छुट्ट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । जसअनुरुप एकीकृत निर्देशनलाई स‌ंशोधन गर्दै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको रकमलाई वित्तीय साक्षरता प्रवर्द्धन गर्ने लगायतका क्रियाकलापलाई प्रोत्साहित गर्न प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्नेछ । यसरी गरिएको खर्चको विस्तृत संस्थागत विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको १ महिनाभित्र आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ ।

यस्तो रकम शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता र दिगो विकास लगायतका क्षेत्रमा खर्च गर्नुपर्नेछ ।

संस्थाको ब्राण्ड प्रवर्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमहरुको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, र्‍याली तथा विज्ञापन जस्ता कार्य, म कुनै किसिमको नगद, दान, दातब्य, पुरस्कार आदि वितरण गरी सो खर्च सामाजिक उत्तरदायित्वअन्तर्गत लेखांकन गर्न पाइने छैन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार