ग्लोबल मनी वीक २०२५ को अवसरमा मन्थलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रामेछाप । ग्लोबल मनी वीक २०२५ को अवसरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मन्थली शाखाको आयोजनामा विद्यार्थीहरूसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ स्थित श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालयमा आयोजित गरिएको थियो।

कार्यक्रममा कक्षा ८, ९, ११, र १२ का विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको थियो। प्रशिक्षणका क्रममा बचतको महत्त्व, ऋणको उपयोग, बैंकिङ सेवा, डिजिटल बैंकिङ तथा डिजिटल ठगीबाट जोगिने उपाय, शेयर तथा आईपीओलगायतका विषयमा जानकारी प्रदान गरियो।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक हर्कबहादुर भुजेलले गरेका थिए। वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट सञ्चालन विभाग प्रमुख सुमन दनुवार र सामान्य सेवा विभाग प्रमुख मिलन महर्जनले संस्थाको परिचय तथा वित्तीय सेवाहरूबारे जानकारी गराएका थिए।

त्यसैगरी, कार्यक्रम सञ्चालन तथा वित्तीय साक्षरता प्रशिक्षण क्षेत्रीय अधिकृत भरत खड्काले गरेका थिए। कार्यक्रममा मन्थली शाखा प्रमुख रमेश पौडेलसहित शाखाका कर्मचारी प्रमोद यादव, चन्द्रबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार