CLI

शिखर इन्स्योरेन्सको निर्जीवन बीमा अभिमुखीकरण सम्पन्न

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्सको संयुक्त आयोजनामा भक्तपुर जिल्लाका उद्योगी तथा व्यवसायीलाई निर्जीवन बीमासम्बन्धी जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको छ। बुधबार सूर्यविनायकस्थित होटल घ्याम्पेडाँडामा आयोजित कार्यक्रममा बीमाको महत्त्व, प्रक्रिया र लाभबारे जानकारी दिँदै कार्यक्रम सम्पन्न गरिएको हो।

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले व्यवसाय सञ्चालनमा आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा आवश्यक रहेको बताइन्। प्राकृतिक प्रकोप वा अन्य आकस्मिक घटनाबाट बच्न उद्योगी–व्यवसायीले बीमा गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेले बीमालाई औपचारिकता मात्र नबनाई आवश्यकताका रूपमा लिनुपर्नेमा जोड दिए। उनले बीमा प्रक्रियागत रूपमा सहज रहेको उल्लेख गर्दै बीमा दाबी भुक्तानी पाउन गाह्रो नहुने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदितप्रसाद काफ्लेले बीमाका प्रकार, प्रक्रिया, सम्पत्ति बीमा, विदेश यात्रा मेडिकल बीमा, सवारी साधन बीमा लगायतका विषयमा जानकारी गराएका थिए। त्यस्तै कम्पनीका नायव महाप्रबन्धक सुरज राजवाहकले शिखर इन्स्योरेन्स कम्पनीको इतिहास, सेवा तथा बीमा दाबी भुक्तानी प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए।

यसै अवसरमा भक्तपुर उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता पनि सम्पन्न भएको छ। सम्झौतापत्रमा संघकी अध्यक्ष धौबन्जा र शिखर इन्स्योरेन्सका सीईओ पाण्डेले हस्ताक्षर गरेका हुन्।

उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव नविन प्रजापति तथा जिल्लाका १२० भन्दा बढी उद्योगी–व्यवसायीको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

Leave Your Comment

Related News