काठमाडौं । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले गभर्नर नियुक्तिमा ६५ वर्षीय उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न आदेश गर्यो ।
उक्त आदेश आउनुपूर्व आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटघाट भएको थियो । भेटघाटमा आजको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्ति गर्ने लगभग सहमति भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार कांग्रेस सभापति देउवासँग सहमति जनाइ प्रधानमन्त्री ओलीले कांग्रेसनिकट गभर्नर नियुक्ति गर्न तयार भैसकेका थिए । सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिबारे महत्वपूर्ण छलफल गर्ने तय भएको थियो ।
तर सर्वोच्चको अन्तरिम आदेशसँगै आजको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्ति विषयबारे छलफलै भएन । गभर्नर नियुक्तिबारे पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले एक मिडियामा १ अर्ब लेनदेन भएको हल्ला भएको शंका व्यक्त गरेका थिए । उनको शंका र गभर्नर नियुक्तिमा भएको मापदण्ड संशोधनका कारण गभर्नर नियुक्तिमा चलखेल भएको आशंका धेरैको थियो ।
तर सर्वोच्चले उमेर हद हटाउने मापदण्ड तत्काल कायम नगर्न अन्तरिम आदेश दिएसँगै मंगलबार मन्त्रिपरिषद्को बैठकमा तय भैसकेको गभर्नर नियुक्तिका सम्बन्धमा छलफलै नभएको एक मन्त्रीले जानकारी दिए ।
मंगलबारको बैठकमा शिक्षक आन्दोलनलगायतका विषयमा भने छलफल भएको छ । आजको मन्त्रिपरषद् बैठकले वैशाख १२ गते १२ गते संसदको अधिवेशन बोलाउने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने तथा शिक्षकहरुसँग वार्ता र संवाद जारी राख्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए
बैठकले एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान, र कक्षा १२ को परीक्षालाई ध्यान दिएर शिक्षकहरुलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान गर्ने निर्णय गरेको ती मन्त्रीले बताएका छन् ।