काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित शान्तिबन वाटिकामा रहेको कृषि बजार व्यवस्थापन समितिबीच वैशाख १ गते एक औपचारिक कार्यक्रमका बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ।
सम्झौताका अनुसार, कास्की जिल्ला सहित देशका विभिन्न स्थानहरूमा उत्पादित तथा आयातित कृषि उपजको विक्री वितरण समितिको मातहत रहेका स्टलहरूबाट हुँदै आइरहेको छ। उक्त कारोवारलाई सहज बैंकिङ पहुँचमार्फत डिजिटल प्रणालीमा रूपान्तरण गरी प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच सहकार्य गरिएको हो।
सम्झौता पत्रमा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी र प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका थिए।
सम्झौतापश्चात आयोजित कार्यक्रममा समितिका अध्यक्ष दुवाडीले प्रभु बैंकप्रति आभार व्यक्त गर्दै सम्झौताबाट समितिको मातहत रहेका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोवारमा सहजता आउने विश्वास व्यक्त गरे। त्यस्तै, बैंकका प्रदेश प्रमुख रानाले डिजिटल सेवामार्फत कृषि बजारको आर्थिक कारोबारमा पारदर्शिता तथा सहजता सुनिश्चित हुने धारणा राखे।
सम्झौताअनुसार, प्रभु बैंकले समितिअन्तर्गत सञ्चालनमा रहेका व्यवसायहरूलाई नगदरहित कारोबारतर्फ उन्मुख गराउने उद्देश्यले क्यू।आर। कोड, डिजिटल भुक्तानी सुविधा तथा आवश्यक इन्टरनेट सेवाहरू उपलब्ध गराउनेछ। साथै, व्यवसाय विस्तारका लागि बैंकको नीतिअनुसार आवश्यक कर्जा सुविधा पनि प्रदान गरिने छ।

