CLI

वाणिज्य बैंकहरुका खराब कर्जामा वृद्धि

काठमाडौं । आर्थिक गतिविधि चलयामान हुन नसक्दा यसको असर बैंक तथा वित्तीय संस्थामा परेको छ । आर्थिक गतिविधि चलयामान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको नाफा घट्नु, खुद ब्याज आम्दानी घट्नु्, कर्जा प्रवाह घट्नु र निष्क्रिय कर्जा बढेको बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासमा देखिएको छ ।
मुलुकमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनले बैंकहरूको खराब कर्जा औसत ४.५४ प्रतिशत छ । चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमास र गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकहरूको खराब कर्जा सामान्य बढेको हो । गत पुससम्म बैंकहरूको खराब कर्जा औसत ४.४९ प्रतिशत र गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.५२ प्रतिशत थियो ।

गत पुससम्म बैंकहरूको औसत खराब कर्जामा ठूलो वृद्धिदर देखिएको थिएन तर बैंकहरुको व्यक्तिगत रुपमा हेर्दा भने खराब कर्जा ५ प्रतिशतभन्दा माथि रहेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले औसत खराब कर्जा ५ प्रतिशतभित्रै राख्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकको उक्त निर्देशनलाई बैंकहरुले पालना नगर्दा राष्ट्र बैंक भने मौन बसेको छ ।

सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको ७.६८ प्रतिशत रहेको छ । सबैभन्दा थोरै भने एभरेष्ट बैंकको ०.६४ प्रतिशत रहेको छ । यो अवधिमा दुई वाणिज्य बैंकबाहेक सबै बैंकको खराब कर्जा बढेको छ भने तीन वाणिज्य बैंकहरू अझै पनि खराब कर्जाको दबाबबाट बाहिर रहेका छन्।

तुलनात्मक रुमपा दोस्रो त्रैमासिकभन्दा तेस्रो त्रैमासिकमा खराब कर्जा बढे पनि एभरेष्ट, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड भने दबाबबाहिर देखिएका छन्। यी बैंकहरूको चैतसम्म खराब कर्जा क्रमशः ०.६४ प्रतिशत, १.४४ प्रतिशत र ३.४३ प्रतिशत छ।

यस्तै दुई वाणिज्य बैंकले भने दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खराब कर्जा घटाएका छन्।

दोस्रो त्रैमासिकमा ४.५ प्रतिशत खराब कर्जा रहेको सिद्धार्थ बैंकले तेस्रो त्रैमासिकमा यस्तो कर्जा घटाएर ४.०४ प्रतिशतमा कायम गरेको छ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले पनि खराब कर्जा ४.९६ प्रतिशतबाट ४.६९ प्रतिशतमा झारेको छ।

योबाहेकका १५ वटा वाणिज्य बैंकहरूको खराब कर्जा भने उच्च रहेको छ ।

उच्च खराब कर्जा हुनेहरूमा हिमालयन, कुमारीसँगै नेपाल इन्भेस्टमेन्ट मेगा ६.०६ प्रतिशतसहित तेस्रो नम्बरमा छ।

यीबाहेक लक्ष्मी सनराइज बैंकको ५.८६ प्रतिशत, एनआईसी एसिया बैंकको ५.७५ प्रतिशत, सिटिजन्स ५.७१ प्रतिशत, प्राइम ५.५६ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत खराब कर्जा छ।

यस्तै खराब कर्जा ४ प्रतिशतमा हुनेमा भने ८ वटा वाणिज्य बैंकहरू छन्। जसमा कृषि बैंक र ग्लोबल आईएमई बैंकको ४.९८ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ४.६९ प्रतिशत, माछापुच्छ्रे ४.५९, एनएमबी ४.४७ प्रतिशत, नेपाल एसबीआई बैंकको ४.०६ प्रतिशत र सिद्धार्थ बैंकको ४.०४ प्रतिशत खराब कर्जा छ।

यीमध्ये नबिल बैंकको खराब कर्जा भने तेस्रो त्रैमासिकमा ह्वात्तै बढेको छ। एनबी बैंक मर्ज गरेर ल्याउँदा सँगै आएको निर्माण क्षेत्रको पोर्टफोलियोका कारण नबिलको खराब कर्जा बढेको हो।

दोस्रो त्रैमासिकसम्म १.७ प्रतिशत मात्रै खराब कर्जा रहेको नबिल बैंकको त्रेस्रो त्रैमासिकमा ४.९६ प्रतिशतमा पुगेको हो। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जा संकलन गर्न समस्या भइरहँदा खराब कर्जा बढेको हो । विशेषगरी घरजग्गामा गरेको लगानी र अर्थतन्त्र चलयामान हुन नसक्दा अन्य क्षेत्रमा परेको असरले गर्दा कर्जा संकलन गर्न कठिन भएको जानकारहरु बताउँछन् ।

 

Leave Your Comment

Related News