काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ मा अवस्थित जितपुर तरकारी बजार तथा मुख्य सडक छेउका माछा–मासु पसलहरूमा विक्रेताहरूले मासु खरिद र विक्रीमा मनपरी गर्न थालेका छन्। स्थानीय व्यवसायीहरूले बिना दर्ता पसल संचालन गरी मासुको मूल्य पनि स्वेच्छाचारी रूपमा तोक्दै आएका छन्।
नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले यस विषयमा हालसम्म कुनै पनि प्रकारको अनुगमन नगरेको स्थानीय बासिन्दाहरूको गुनासो छ। उनीहरूका अनुसार पटक–पटक उजुरी दिँदा पनि सम्बन्धित निकाय मौन बसेको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार केही मासु व्यवसायीहरूले मासुमा जानीजानी पानी मिसाएर विक्री गर्ने गरेका छन्। उदाहरणका लागि, एक हजार रुपैयाँ प्रति किलोमा विक्री भइरहेको खसीको मासुमा आधा पानी मिसाएर उपभोक्तालाई ठगिने गरिएको छ।
झन खतरनाक कुरा त के भने, १० देखि १२ किलो तौल हुने खसी वा बाख्रालाई हावाको पम्प (साइकलको टायर फुलाउने) प्रयोग गरी पानी सहित हावा भरेर त्यसको तौल १८ देखि २० किलो पुर्याइन्छ, र त्यसैअनुसार मूल्य असुलिन्छ। यसरी कृत्रिम रूपमा तौल बढाइएको मासु खुलेआम विक्री वितरण भइरहेको छ, त्यो पनि इलाका प्रहरी कार्यालय जितपुर नजिकैको बजार क्षेत्रमा।
यसबाहेक, खसीका मानवस्वास्थ्यका लागि हानिकारक अङ्गहरू समेत मासुमा मिसाएर बेच्ने गरिएको पाइएको छ। यस्ता मासुहरू सदरमुकाम कलैया, राजधानी काठमाडौँसहित देशका विभिन्न शहरहरूमा ‘छाँटीएको मासु’को नाममा पठाइन्छ र विक्री वितरण गरिन्छ, जुन स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण छ।
नाफाको लागि उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने यस्ता कार्यहरू रोकथामका लागि हालसम्म कुनै प्रभावकारी कदम नचालिएकोप्रति स्थानीयवासीहरू आक्रोशित छन्। सम्बन्धित निकायले तत्काल निगरानी र अनुगमनको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

