प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त, रघुजी पन्त नयाँ शिक्षामन्त्रीमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई पदबाट बर्खास्त गरेका छन्। साथै, रिक्त रहेको शिक्षामन्त्रीको पदमा रघुजी पन्तलाई नियुक्त गरिएको छ।

शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि खाली रहेको मन्त्रालयको नेतृत्वका लागि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता रघुजी पन्तलाई रोजेका हुन्। पन्तले भोलि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

यसैबीच, ऊर्जा राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री ओलीले बुधबार पदमुक्त गरेका हुन्। प्रधानमन्त्री ओलीको आलोचना गर्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिने तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्ने अभिव्यक्ति दिँदै आएका तामाङले माफी माग्न अस्वीकार गरेपछि उनलाई बर्खास्त गरिएको हो।

तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई आफू सहभागी हुन नसकेको एक कार्यक्रममा उपस्थित नभएको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेपछि प्रधानमन्त्री ओली उनीप्रति असन्तुष्ट बनेका थिए। तामाङ गत साउन १८ गते राज्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार