काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने लुक्ला र माउन्टेन फ्लाइटहरु पूर्ण रूपमा अवरुद्ध भएका छन्। आइतबार बिहानैदेखि काठमाडौं उपत्यकासहित हिमाली क्षेत्रमा मौसम प्रतिकूल भएकोले लुक्लातर्फका कुनै पनि आन्तरिक उडान सम्पन्न हुन सकेनन्।
बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले तय गरेका सबै माउन्टेन फ्लाइटहरु आजको लागि रद्द गरिएका छन्। बुद्ध एयरले एकपटक उडानको प्रयास गरे पनि मौसममा सुधार नआएपछि जहाज बीच बाटोमै फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।
उनका अनुसार बुद्ध एयरको माउन्टेन फ्लाइट उडान गरे पनि खराब मौसमका कारण विमान डाइभर्ट गरेर काठमाडौंमै फर्कनु परेको हो।
यसैबीच, कुवेतबाट काठमाडौंतर्फ आउँदै गरेको जजीरा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान पनि प्रतिकूल मौसमका कारण भारतीय सहर वाराणसीमा डाइभर्ट गरिएको छ। यद्यपि अन्य गन्तव्यतर्फका उडानहरू भने ढिलाइ भए पनि निरन्तर अवतरण भइरहेका प्रवक्ता शेर्पाले बताए।

