काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्यमा महाप्रसाद अधिकारी रहने गरी मन्त्रिपरिषदले निर्णय गरेको छ ।
वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिनुभएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरहरु मध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
शिक्षक महासंघसँग भएको सहमति कार्यान्वयनमा लैजाने समेत निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । बैठकले वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोशाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश २०८१ स्वीकृत गर्ने र स्वस्थ्य बीमा (पहिलो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।
त्यस्तै जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि गरि ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थमन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।




