गभर्नर नियुक्तिमा भागबण्डा नगरौं,योग्यताक्रमको आधारमा छानौं :सांसद डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले गभर्नर नियुक्ति जस्तो संवेदनशील विषयमा सरकारले अनावश्यक समय खेर फालिरहेको बताएकी छिन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले (मेरिटोक्रेसी ) योग्यताक्रम  आधारमा नियुक्ति गर्न सकिने भए पनि सरकार भागबण्डाको हिसाबले पद बाँडफाँडमा अल्झिएको टिप्पणी गरिन्।

‘सरकारले गभर्नर नियुक्तिको विषयमा लामो समय खर्च गरेको देखिन्छ। योग्यताक्रमको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ। सरकारले यस्ता हावादारी कुरामा समय खर्च नगरोस्’ सांसद डाँगीले भनिन्।

‘१०–११ महिना भइसक्यो, कहिले कार्यकारी निर्देशक त कहिले गभर्नर पदमा सरकार अड्किएको छ। जनताले भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन्’ उनले भनिन्,‘सरकारलाई जिम्मेवारीपूर्वक अगाडि बढ्न पर्छ ।’

त्यस्तै, उनले केही महिनाअघिसम्म ४६ अर्ब ४७ करोड नाफामा रहेको नेपाल विद्युत प्राधिकरण अहिले एक महिनामै ५ अर्ब २६ करोड घाटामा गएको भन्ने समाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै डाँगीले सो विषयमा ऊर्जा मन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग समेत राखेकी छन्।

उनले सरकारको ध्यान जनताको दैनिक समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्। ‘बर्खायाम सुरु भइसकेको छ। राजधानी काठमाडौं जोड्ने प्रमुख सडकहरू असुरक्षित छन्। लाखौं नागरिकहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्’ उनले भनिन्,‘ जनताको सुरक्षा सरकारको दात्वि हो त्यसलाई पुरा गर्नु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार