काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बोर्ड अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई बुधबार बोर्डको सभा हलमा एक विशेष समारोहका बीच हार्दिक कृतज्ञता व्यक्त गर्दै सम्मानपूर्वक बिदाइ गरेको छ।
बिदाइ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपक राज जोशी, बोर्ड उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), बोर्ड सदस्य ऋषि भण्डारी, नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रले बोर्ड अध्यक्षसमेत रहेका सचिव सिंहको कार्यकाल फलदायी रहेको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत जोशीले सचिव सिंहको कार्यकाल छोटो भए पनि उपलब्धिमूलक रहेको उल्लेख गरे । ‘कर्मचारी विनियमावलीको ११औं संशोधन सहज बनाउन सचिवज्यूको अग्रसरता महत्वपूर्ण रह्यो । शिथिल अवस्थामा रहेको बोर्डलाई उहाँले नेतृत्व प्रदान गर्दै चलायमान बनाउने र सकारात्मक उर्जा प्रदान गर्ने निर्णय गर्दै गतिशील बनाउनु भयो,’जोशीले भने ।
जोशीले बोर्डप्रतिको माया र समर्पणले अवकाशपछिको समयमा पनि बोर्ड अध्यक्ष सिंहबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।
कर्मचारी युनियन अध्यक्ष कुन्दन शर्मा मिश्रले सचिव सिंहसँग बिताएको समयलाई ुक्वालिटी टाइमुका रूपमा व्याख्या गर्दै भने, ‘उहाँको निर्णय क्षमता र स्पष्ट दृष्टिले बोर्ड नयाँ ऊर्जा भर्न सफल भएको छ । हामी उहाँलाई सदैव सम्झिरहने छौं र आवश्यक परेमा सदा सल्लाह सुझावको लागि आग्रह पनि गर्नेछौं ।’
बोर्ड सदस्य ऋषि भण्डारीले सचिव सिंहलाई ‘अभिभावक’ सरह भूमिका निर्वाह गरेको स्मरण गर्दै भने, ‘कठिन समयमा सही निर्णय लिन सक्ने अद्वितीय क्षमता उहाँमा छ । अध्यक्ष पदमा रहँदा राखिएका आशाहरूलाई उहाँले कहिल्यै मलिन हुन दिनुभएन।’
धन्यवाद मन्तव्य दिँदै सचिव तथा अध्यक्ष सिंहले पर्यटन बोर्ड परिवारप्रति आभार व्यक्त गरे । उनले भने, ‘नेपाल निजामति क्षेत्रमध्येमा नै बोर्डमा सक्षम र योग्य पात्रहरू हुनुहुन्छ । सकारात्मक ऊर्जा, समन्वय र प्रतिबद्धताले धेरै कामहरू सम्पन्न गर्न सकिएको छ। अझ धेरै गर्न सकिन्थ्यो भन्ने सानो गुनासो भए पनि सबैको भूमिकालाई म उच्च सम्मान गर्छु ।’
सचिव सिंहले कर्मचारी विनियमावलीको संशोधन, वार्षिक कार्यक्रम छनोट र कार्यान्वयनमा ध्यान दिन सुझाव दिँदै आगामी दिनमा पर्यटन प्रवर्द्धनका थप प्रयासहरूलाई सशक्त बनाउन आग्रह गरे ।
बोर्ड उपाध्यक्ष कमल सापकोटाले सचिव सिंहको नेतृत्वमा बोर्डले विवादरहित र परिणाममुखी काम गरेको प्रशंसा गर्दै अवकाशपछिको जीवनमा पनि निरन्तर सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य तथा कर्मचारीहरूले सचिव सिंहप्रति नेतृत्व, निर्णय र समर्पणका यादगार क्षणहरू स्मरण गर्दै अवकाशपछिको जीवनका लागि शुभकामना व्यक्त गरेका थिए । सचिव सिंह आफ्नो ३८ वर्षको निजामति सेवा पूरा गरी अवकाशमा गएका हुन् ।


